पीएसजीको सहज जित



लन्डन, (एजेन्सी)  । 

चर्चित खेलाडी लिओनल मेसीले फ्रान्सको घरेलु लिग वानमा पहिलो गोल गर्दा पीएसजीले जित आत्मसात् गरेको छ ।बार्सिलोनाबाट लिग वान खेलेयता मेसीले छैटौं खेलमा पहिलो गोलको खाता खोलेको दिन पीएसजीले जित हात पारेको हो । शनिबार राति भएको लिगको १४औं साताको खेलमा पीएसजीले आफ्नो घरेलु मैदानमा पाहुना टोली नान्टेसमाथि ३–१ गेलअन्तरको जित निकाल्न सफल भयो । उनले यसअघि खेलेका ५ खेलमा कुनै पनि गोल र असिस्ट गर्न सकेका थिएन । उक्त खेलमा फ्रान्सेली फरवार्ड क्लियन एमबाप्पेले एक गोल थप्दा एक गोल उपहार पाएको थियो । नान्टेसका तर्फबाट रान्डल कोलो मुआनीले एक गोल फर्काएका थिए ।

घरेलु मैदानमा पीएसजीले दोस्रो मिनेटमै खेलमा अग्रता लिएको थियो । तर, जितका लागि भने अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो । खेल बराबरी अवस्थामा रहेका पीएसजीले उपहार गोलको मद्दतमा लिड लिएको थियो । तर, पीएसजी खेलको ६५औं मिनेटमा १० खेलाडीमा घटेको थियो । गोलकिपर केयलर नाभासले खराब फाउल गरेका कारण सोझै रातो कार्ड पाएर मैदान छाडेपछि पीएसजी समस्यामा परेको थियो । खेलको ७६औं मिनेटमा भने मुआनीले गोल गरेपछि नान्टेस खेलमा फर्केको थियो ।

तर, त्यसपछि पीएसजीले उपहार गोलको मद्दतमा खेलमा पुनः अग्रता बनायो । त्यसपछि अन्तिम समयमा मेसीले गोल गर्दै पीएसजीको सहज जित पक्का गरे । मेसीले गोल गर्नुअघि उपहार गोलमा पनि सोझै भूमिका खेलेका थिए । टिमले पाएको उपहारमा गोलमा मेसीकै मुख्य भूमिका रहेको थियो । मेसीले दिएको पास बल विपक्षी खेलाडीलाई लागेर सोझै गोलमा परिणत भएको थियो । नान्टेसका डिफेन्डर डेनिस अपिसले आफ्नै पोस्टमा गोल गरेका थिए ।त्यसपछि खेलको ८७औं मिनेटमा पीएसजीका लागि मेसीले गोल गरेका हुन् । क्लियन एमबाप्पेले दिएको पासमा मेसीले पेनाल्टी एरिया बाहिरबाट सानदार प्रहारमा बललाई सोझै जाली चुमाएपछि पीएसजी जित पक्का भयो । मेसीले डी–बक्स लाइनको नजिकबाट पोस्टको तल्लो कुना च्यापेर हानेको कडा सट गोलकिपरले रोक्ने कुनै अवसर नै पाएनन् । सोही गोल मेसीका लागि घरेलु लिग वानमा पहिलो बन्यो ।

मेसीको सो गोलपछि खेलमा थप गोल हुन सकेन र खेल पीएसजीले ३–१ ले जित्यो । अब यो जितपछि पीएसजीले १४ खेलबाट कुल ३७ अंक जोडेको छ । पीएसजीले अब च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको खेल खेल्नेछ ।यसअघि, लगातार ५ खेलमा गोलविहीन र असिस्टविहीन हुनुपर्दा मेसीको चर्को आलोचना भएको थियो । स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी पुगे पनि युरोपको सबैभन्दा कमजोर र सामान्य टिमहरू रहेको लिग वानमा मेसीलाई पहिलो गोल गर्न पनि ६ खेलसम्म लगातार संघर्ष गर्नुपरेको थियो ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको दोस्रो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए । ८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भयो । मेसीको थ्रु बललाई क्लियर गर्ने क्रममा एपिआले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्