ब्रिगेड ब्वाइजको रोमाञ्चक जित



काठमाडौं  । 

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले रोमाञ्चक जित हात पारेको छ ।दशरथ रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टिम एपीएफ क्लबलाई ३–२ ले हराएको हो । खेलमा ब्रिगेड टिम दुईपटक अग्रता लिएको अवस्थामा पनि बराबरीमा पुग्नुु प¥यो । २–२ बराबरी भएर खेल सकिन लाग्दा ब्रिगेडले अन्तिममा गोल गर्दै अंक बाँड्न अस्वीकार गरिदिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले विजयी गोल गरेका थिए ।

सुरजले डाडी जुनियरको पासमा प्रभावशाली प्रहार गर्दै गोल गरेका थिए । योसँगै ब्रिगेड ३–२ ले जित्यो भने एपीएफको लगभग सुरक्षित भइसकेको एक अंक पनि खोसिएको थियो । यसअघि, खेलको १२औं मिनेटमा दिनेश राईको गोलमार्फत ब्रिगेडले १–० को अग्रता लिएको थियो । उनले फ्रिकिक प्रहारबाट आकर्षक गोल गरेका थिए ।तर, यो अग्रता ५ मिनेटका लागि मात्रै सीमित भएको थियो । एपीएफका स्टार खेलाडी आशिष लामाले ५ मिनेटपछि नै गोल गरेर ब्रिगेडको अग्रता तोडिदिए । उनले १७औं मिनेटमा आभाष लामिछानेको पास सदुपयोग गर्दै एपीएफलाई बराबरीमा ल्याएका थिए । यसपछि दुवै टिमबाट गोल गर्न अक्षम हुँदा पहिलो हाफ १–१ बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा पनि पहिलो गोल ब्रिगेडले नै गरेको थियो ।

दिनेश राईले ६५औं मिनेटमा सुरज गुरुङको पासमा गोल गरेका थिए । यो गोलसँगै ब्रिगेड खेलमा फेरि एकपटक अग्रता लिएको थियो । तर, यो अग्रता पनि धेरै बेर टिक्न सकेन । १२ मिनेटपछि एपीएफले बराबरी गोल फर्काएको थियो । एपीएफका लागि विक्की तामाङले ७७औं मिनेटमा गोल गरेका थिए । रवि थिङले गरेको क्रसमा विक्कीले गोल गरेका थिए ।यस्तै, आइतबार बेलुकी भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले कठिन जित हासिल ग-यो । ललितपुरको टिम जावलाखेल युवा क्लबलाई मनाङले १–० को झिनो अन्तरले हराएको हो । पहिलो हाफ दुबै टिमका खेलाडीबाट निरस खेल देखाएका थिए । तर, दोस्रो हाफमा मनाङले गोल गर्दै अग्रता लिएको थियो । दिनेश राजवंशीले ५७औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । योसँगै मनाङले पनि थ्रीस्टार, ब्रिगेड ब्वाइजसरह ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्