संकटा र हिमालयन शेर्पाले बराबरी खेले



 काठमाडौं  । 

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेल बराबरीमा समाप्त भएको छ । दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ बराबरी खेलेका हुन् । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भए । पहिलो अग्रता संकटाले लिएको थियो ।
लक्ष्मण रुचालले ६०औं मिनेटमा गोल गर्दै संकटालाई १–० को अग्रतामा राखेका थिए । उनले सुवास गुरुङको क्रसमा गोल गरेका थिए । यो सिजनको लिगको पहिलो गोल थियो । अघिल्लो दिन उदघाटन खेलमा फ्रेन्डस् क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरीमा चित्त बुझाएको थियो ।
संकटाको यो अग्रता धेरै बेर टिक्न भने सकेन । तीन मिनेटपछि नै हिमालयन शेर्पाका त्रिदेव गुरुङले गोल फर्काएर खेल १–१ बराबरीमा पु-याएका थिए । उनले जीवन गुरुङको क्रसमा हेडमार्फत् गोलको दिशा दिएका थिए । यसपछि दुबै टिमबाट गोल नहुँदा बराबरीमै खेल सकिएको थियो ।यस्तै बेलुकी भएको खेलमा थ्रीस्टार क्लबले शानदार जित हात पारेको छ । ललितपुर डर्बीको खेलमा थ्रीस्टारले च्यासल युवा क्लबलाई ३–० ले हरायो । यो जितसँगै थ्रीस्टारले उपाधि दावेदारीमा रहेको अरु टिमलाई चेतावनी पनि दिएको छ ।

थ्रीस्टारको लागि पहिलो गोल निशान खड्काले फ्रिकिकमार्फत् गरेर १–० को अग्रता दिलाए । उनले २३ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भएको थियो । यसको लगतै च्यासलले पेनाल्टी पाएपनि विकाश मेराग्लियाकोे प्रहार थ्रीस्टारका विदेशी गोलकिपर प्रिसोले बचाए । च्यासलको बराबरी गर्ने मौका गुमेको थियो ।

यसपछि राफायल बिडियसले थ्रीस्टारको अग्रता दोब्बर पारे । उनले पहिलो हाफ सकिनलाग्दा हेमन्त थापामगरको फ्रिकिकमा हेड गर्दै गोल गरेका थिए । त्यस्तै अनन्त तामाङले ६६ औं मिनेटमा गोल गरेर थ्रीस्टारको जित सुनिश्चित बनाएका थिए । उनले पनि हेमन्तको कर्नरमा हेड गोल गरेका थिए ।
आजको खेलः
ब्रिगेड ब्वाइज भर्सेस एपीएफ (१ः०० बजे)
मनाङ मस्र्याङदी भर्सेस जावलाखेल (४ः४५ बजे)

प्रतिक्रिया दिनुहोस्