कतार एयरवेजद्वारा १ करोड ७८ लाख प्रायोजन



काठमाडौं । 

अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एअरवेजबीच एक वर्षका लागि बुधबार सम्झौता भएको छ ।

सम्झौताअनुसार कतार एअरवेजले एन्फालाई ‘ए’ डिभिजन लिग सञ्ंचालन गर्न १ लाख ५० हजार अमेरिकी डलर प्रदान गरिनेछ । यो रकम नेपाली १ करोड ७८ लाख हुन आउँछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

योसँगै प्रतियोगिता ‘कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग’ को नाममा सञ्चालन हुनेछ । सहभागी १४ टिमका जर्सीमा कतार एअरवेजको लोगो पनि रहनेछ ।गत संस्करणमा पनि कतार एअरवेजले त्यति नै रकम सहयोग गरेको थियो । एन्फा अध्यक्ष शेर्पाले अर्को वर्ष पनि सम्झौतालाई थप बृहत् बनाउँदै निरन्तरता दिने अपेक्षा गरे । उनले बताए ‘अर्को सिजन सम्पूर्ण लिग समेटेर नै बृहत् सम्झौता हुनेछ । सायद, ५ लाख डलर बराबरको सम्झौता हुन सक्नेछ ।’

१४ टोली सहभागी ‘शहीद स्मारक ए डिभिजन लिग’ यही मंसिर ३ गतेदेखि शुरू हुँदैछ । लिगको पहिलो खेल दशरथ रंगशालामा फ्रेन्ड्स क्लब सातदोबाटो युवा क्लबबीच हुनेछ । ललितपुरको टिम सातदोबाटो गत सिजनमा ‘बी’ डिभिजन विजेता बनेर ‘ए’ डिभिजनमा बढुवा भएको थियो । यसपटक सातदोबाटोले ‘ए’ डिभिजन प्रतियोगितामा डेब्यु गर्दैछ । लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब हो ।

प्रतिक्रिया दिनुहोस्