नेदरल्यान्ड्स विश्वकपमा छनोट



लन्डन, (एजेन्सी)  । 

नेदरल्यान्ड्स कतार विश्वकपका लागि छनोट हुन सफल भएको छ । समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा डच टोलीले अर्लिङ हल्यान्डको टिम नर्वेलाई २–० गोलअन्तरले हराउँदै सोझै कतार विश्वकपको टिकट काट्न सफल भएको हो । यदि, यो खेल हारेको भए नेदरल्यान्ड्स ठूलो संकटमा पर्ने थियो । नेदरल्यान्ड्सले दुवै गोल खेलको अन्तिम समयमा गरेर खेल जितेको हो ।

यो खेल बराबरीमा रोकिएको भए पनि नेदरल्यान्ड्स सोझै विश्वकपमा छनोट हुन समीकरण बनेको थियो । तर, अन्तिम खेलमा टिमले स्पष्ट जितका साथ दुई अंकको अग्रतासहित कतारको टिकट पक्का गर्न सफल भयो । नेदरल्यान्ड्सको घरेलु मैदानमा भएको खेलमा पहिलो गोल खेलको ८४औं मिनेटमा स्टेभन वर्गविज्नले गरेर टिमलाई जितको बाटो देखाएका थिए । त्यस्तै, खेलको ९१औं मिनेटमा मेम्फिस डिपाएले अर्को गोल थपेपछि नेदरल्यान्ड्स २–० ले विजयी भयो ।

यसै समूहको अर्को खेलमा टर्कीले पनि मोन्टेनेग्रोलाई उसैको घरेलु मैदानमा २–१ ले हराउँदै प्लेअफ्मा स्थान बनायो । नेदरल्यान्ड्सले नर्वेलाई हराएपछि टर्कीले पनि आफ्नो खेल जितेर दोस्रो स्थान सुरक्षित गरेको हो । अब समूह ‘जी’ बाट नेदरल्यान्ड्स २३ अंकका साथ समूह विजेता बनेर विश्वकपमा छानिँदा २१ अंक भएको टर्की दोस्रो स्थानमा रहेर प्लेअफमा छानिएको छ ।
त्यस्तै, अर्को खेलमा कठिन बराबरी खेल्दै ग्यारेथ बेलको टिम वेल्स पनि प्लेअफमा पुग्न सफल भएको छ । मंगलबार राति वेल्सले आफ्नो अन्तिम छनोट खेलमा बलियो टिम बेल्जियमसँग १–१ को बराबरी खेल्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । ठूलो दबाबबीच वेल्सले आफ्नो घरेलु मैदानमा बेल्जियमको सामना गरेको थियो ।

बेल्जियम यसअघि नै समूह विजेता सोझै विश्वकपमा छनोट भइसकेको छ । समूह विजेता तथा फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जिमयसँग दबाबमा खेलेको वेल्सलाई दोस्रो स्थान सुरक्षित गर्न जित वा कम्तीमा पनि बराबरी नतिजा आवश्यक थियो । यदि, पराजित भएको भए चेक रिपब्लिक दोस्रो स्थानमा रहेर प्लेअफमा जाने सम्भावना बनेको थियो ।

तर, वेल्सले निर्णायक खेलमा बलियो टोली बेल्जियमलाई आफ्नो घरेलु मैदानमा पछि पारेको अवस्थामा कमब्याक गरेर बराबरीमा खेल्दै अंक खोस्न सफल भयो ।कार्डिफ सिटी स्टेडियममा भएको उक्त खेलमा पाहुना टोली बेल्जियमले खेल आफ्नो नियन्त्रणमा राखेर खेलेको थियो । बेल्जियमका लागि खेलको १२औं मिनेटमा केभिन डे ब्रुयेनेले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, वेल्स ३२औं मिनेटमै खेलमा फर्कियो ।

घरेलु मैदानमा टिम पछि परेका बेला किफर मोरेले गोल गरेर खेल १–१ बनाएपछि वेल्सले सम्भावनाको ढोका खोलेको थियो । अन्ततः बाँकी समयभरि नै दुवै तर्फबाट थप गोल भएन र खेल १–१ को बराबरीमा सकियो । यस समूहबाट बेल्जियम अपराजित रहँदै विश्वकपमा छानियो भने एक खेल हारेको वेल्स दोस्रो बन्यो ।आठ म्याच खेलेको बेल्जियमले कुल २० अंक जोडेको छ भने १५ अंक भएको वेल्स दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । मंगलबार राति नै भएको अर्को खेलमा चेक रिपब्लिकले पनि आफ्नो घरेलु मैदानमा इस्टोनियालाई २–० ले हराए पनि वेल्स नहारेकाले उक्त जित अर्थहीन बन्यो । चेक १४ अंकका साथ समूहको तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्