अर्जेन्टिना कतार विश्वकपमा छानियो



लन्डन, (एजेन्सी)  । 

स्टार खेलाडी लिओनल मेसीको टिम अर्जेन्टिना अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।
बुधबार बिहान भएको छनोटको १४औं साताको खेलमा अर्जेन्टिनाले चिर प्रतिस्पर्धी ब्राजिलसँग गोलरहित बराबरी खेल्दै कतार विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा लिओनल मेसीसहितको अर्जेन्टिनाले नेयेमारबिनाको ब्राजिलको सामना गर्दा खेल निकै तनावपूर्ण बनेको थियो । खेलभरि नै दुई टोलीका खेलाडीबीच लगातार झडप र खराब फाउल भएको खेल अन्ततः गोलरहित बराबरीमा सकियो । सो बराबरी खेलबाट अर्जेन्टिनाले एक अंक जोडेपछि विश्वकपको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाले ब्राजिलसँगको खेलबाट एक अंक जोड्दै अन्तिम ४ खेलअघि नै कतार विश्वकपमा स्थान पक्का गरेको छ । अब अर्जेन्टिनाले बाँकी चार खेल हारे पनि केही फरक पर्नेछैन । ब्राजिल भने आफ्नो घरेलु मैदानमा यसअघि कोलम्बियालाई १–० ले हराउँदै अन्तिम पाँच खेल बाँकी छँदै विश्वकपमा छनोट भइसकेको छ ।

अर्जेन्टिना र ब्राजिलबाहेक कोपा क्षेत्रका सबै देशले १४ म्याच खेलिसकेका छन् । ब्राजिल र अर्जेन्टिनाको भने पहिलो खेल विवादका कारण रोकिएको थियो । सो खेल हुने वा नहुने अझैसम्म कोन्मेबेलले निर्णय गरिसकेको छैन । अन्य आठ देशले १४ म्याच खेल्दा ब्राजिल र अर्जेन्टिनाले पनि १३–१३ खेल मात्रै खेलेका छन् ।

हालसम्म यस क्षेत्रको छनोटमा ब्राजिल र अर्जेन्टिना दुई देश मात्रै अपराजित रहेका छन् ।पछिल्लो नतिजाअनुसार ब्राजिल ३५ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ भने अर्जेन्टिना २९ अंकका साथ दोस्रो स्थानमा छ ।दक्षिण अमेरिकी महादेशमा जारी छनोट खेलअन्तर्गत आफ्नो १४औं खेलमा उरुग्वेले भने लज्जास्पद हार भोगेको छ ।

बुधबार बिहान भएको खेलमा कमजोर टिम बोलिभियाले आफ्नो घरेलु मैदानमा उरुग्वेलाई ३–० ले हराएको हो । यो नतिजाले उरुग्वेलाई कतार विश्वकप फुटबल छनोटको यात्रामा झनै संकट थपिदिएको छ । बोलिभियासँग लज्जास्पद हारपछि उरुग्वे अब अंक तालिकाको सातौं स्थानमा चिप्लिएको छ । उक्त खेलमा जितपछि बोलिभिया अझै पनि १४ खेलपछि मात्रै १५ अंक बनाएर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्