कराते खेलाडी वल्र्ड च्याम्पियनसिप खेल्नबाट वञ्चित



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाली खेलकुदमा विवाद नभए हुन्छ भन्ने सबैको अपेक्षा रहेको हुन्छ । विवादले खेल संघलाई भन्दा पनि खेलाडी नै मारमा परेका छन् । यो अहिलेको रोग पनि होइन पहिलेदेखि लागेको रोग यसको जरासमेत निर्मूल पार्न पनि सकिरहेको छैन । अहिलेको ज्वलन्त उदाहरण कराते खेल हो । दुबईमा विश्व कराते महासंघको आयोजनामा वल्र्ड कराते च्याम्पियनसिप सोमबार शुरू भयो ।

उक्त प्रतियोगितामा नेपालबाट ८ खेलाडीको नाम दर्ता भएर भाग लिने तय भइसकेको थियो । तर, तीन खेलाडी मात्रै दुबईमा पुगेका छन् । ५ खेलाडीले भने नाम दर्ता भएर पनि वल्र्ड करातेमा प्रतिस्पर्धा गर्न नसक्ने भएका छन् । यी खेलाडी हुन्, सागका दोहोरो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ, मुकुन्द श्रेष्ठ, विप्लव श्रेष्ठ, अनु अधिकारी र निर्मला तामाङ प्रतियोगितामा खेल्न वञ्चित भएका हुन् । अन्य तीन खेलाडी दिवस श्रेष्ठ, विजय श्रेष्ठ र मोहम्मद शेख आलम भने दुबई पुगेका छन् ।

सूत्रको अनुसार यसमा नेपाल कराते महासंघको लापरवाहीका कारण नेपाली खेलाडीले विश्व च्याम्पियनमा खेल्न नपाएका हुन् । नाम नखुलाउने शर्तमा एक खेलाडीले नेपाल समाचारपत्रलाई बताए–‘नेपाल कराते महासंघले अहिलेसम्म विश्व कराते महासंघमा नवीकरण गरेको छैन । महासंघले नवीकरण वापत ५० लाखभन्दा बढी रकम तिर्न बाँकी छ । यो भनेको नेपाली करातेको दुर्भाग्य नै हो ।’

प्रतिक्रिया दिनुहोस्