नेपाली महिला टिमको फराकिलो जित



नेपाल समाचारपत्र, काठमाडौं  ।

कतारविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाली महिला क्रिकेट टिमले फराकिलो जित हात पारेको छ ।
कतारमा भएको खेलमा नेपालले घरेलु टिम कतारलाई १ सय १९ रनले हराएको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । जवाफमा कतारको टिम २७ रनमै अलआउट भएको थियो । यो नेपाली महिला क्रिकेट टिमको अहिलेसम्मकै फराकिलो जित हो । यस्तै, १ सय ४६ रनको योगफल पनि नेपाली महिला टिमको उच्चतम स्कोर हो । यसअघि, २०१९ मा नेपाली टिमले मलेसियाविरुद्ध १ सय २६ रनको उच्चतम स्कोर बनाएको थियो ।

कतारको ब्याटिङ ध्वस्त बनाउन कप्तान रुविना क्षेत्री बेलबासीले ३ विकेट लिइन् । उनले १.५ ओभरमा १ मेडन राख्दै १ रन मात्रै खर्चिन् । यस्तै, कविता कुँवर र सीता रानामगरले २-२ विकेट लिँदा क्रमशः ६ र ३ रन खर्चे । करुणा भण्डारीले एक विकेट हासिल गर्न केवल २ रन दिइन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट डेब्यु गरेकी संगीता राईले भने १ ओभर फाल्दा १० रन दिएकी थिइन् । दुई जना कतारका ब्याटसवोमेन भने रनआउट भएका थिए ।

कविता र सीताले आ–आफ्नो ओभरमा लगातार दुई विकेट लिएर कतारको ब्याटिङ शुरूमै धरासायी बनाएका थिए । तर, उनीहरूले ह्याट्रिक गर्न भने सफल भएनन् । कविताले पहिलो ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएर कतारलाई शुरूमै दुई झट्का दिएकी थिइन् । त्यसपछि पाँचौं ओभर तथा सीताको पहिलो ओभरमा फेरि दुई विकेट पतन भए । सीताले उक्त ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएकी थिइन् । अर्को ओभरमा कतारकी ब्याटसवोमेन रनआउट हुँदा आधा टिम (५ विकेट) पभेलियन फर्कनुपरेको थियो । घरेलु टिम कतारले यतिबेलासम्म ११ रन मात्रै बटुल्न सकेको थियो ।

करुणाले खेलको आठाै ओभरमा एक विकेट लिएर कतारलाई छैटौं झट्का दिइन् । सात विकेट २७ रनको लागि गुमेको थियो । नेपालकी कप्तान रुबिना क्षेत्री बेलबासीले त्यसपछि एउटै ओभरमा तीन विकेट लिएर कतारको ब्याटिङ १२ ओभरमै सकाइदिएकी थिइन् । रुबिनाले आफ्नो दोस्रो ओभर विकेटसहित मेडन राखेकी थिइन् । तर, उनी पनि ह्याट्रिक गर्नबाट वञ्चित भएकी थिइन् ।

यसअघि, नेपाललाई बलियो स्कोरमा पु-याउन इन्दु वर्माले अर्धशतक प्रहार गरिन् । इन्दुले ४७ बलको सामना गरेर ५ चौकाको सहयोगमा ५५ रन जोडेकी हुन् । यो महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट सर्वाधिक व्यक्तिगत उच्चतम रन हो । यसअघि, सीता रानामगरले २०१९ मा इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन व्यक्तिगत उच्चतम रन थियो । इन्दु १७औं ओभर सकिएपछि रिटायर्ड हर्ट भएकी थिइन् । यस्तै, सीताले ३९ रन जोडिन् भने सरिता मगर २१ रनमा रनआउट भएकी थिइन् ।

नेपालको लागि काजल श्रेष्ठ र सीताले ओपनिङ भार सम्हालेका थिए । तर, काजल ३ रन बनाएर एन्जेला मारेको बलमा क्याच आउट भएकी थिइन् । त्यसपछि, सीता र इन्दुले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेर स्कोर ९६ रनमा पु-याए । यो नेपाली महिला टिमको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्चतम साझेदारीसमेत हो । यसअघि, उनीहरूले नै २ वर्षअघि इन्डोनेसियाविरुद्ध ७० रनको सर्वाधिक साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्