स्विट्जरल्यान्ड पनि छनोट



काठमाडौं । गत युरो कपमा सनसनीपूर्ण प्रदर्शन गरेको स्विट्जरल्यान्ड अन्तिम खेलमा सानदार जित निकाल्दै फिफा विश्वकप फुटबलमा छनोट भएको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विस टिमले आफ्नो घरेलु मैदानमा पाहुना टोली अल्बानियालाई ४–० को गोलको अन्तरले हराउँदै गर्दै कतार विश्वकपको टिकट काट्न सफल भएको हो ।

अन्तिम खेलअघि समूह ‘सी’ मा यस वर्षको युरो कप च्याम्पियन इटाली र स्विट्जरल्यान्ड १५–१५ अंकका साथ पहिलो र दोस्रो स्थानमा थिए । गोल अन्तरका आधारमा इटाली शीर्ष स्थानमा थियो । सोझै विश्वकपमा छनोट हुन स्विट्जरल्यान्डलाई फराकिलो जित आवश्यक थियो भने इटालीलाई भने स्विट्जरल्यान्डले जितेको अवस्थामा गोलअन्तरमा पछि पार्नुपर्ने स्थिति बनेको थियो ।

तर, निर्णायक खेलमा इटाली अवे मैदानमा नर्दन आयरल्यान्डसँग निराशजनक गोलरहित बराबरीमा रोकियो । स्विट्जरल्यान्डले भने आफ्नो घरमा अल्बानियालाई ४–० ले सहजै पन्छायो । यो जितपछि स्विस टोली सोझै विश्वकपमा छनोट भयो भने अन्तिम खेल जित्न नसक्दा इटाली प्लेअफमा जान बाध्य भयो ।

आफ्नो घरेलु मैदानमा स्विट्जरल्यान्डलाई जिताउन ४८औं मिनेटमा नोह ओकाफरले पहिलो गोल गरे भने ५७औं मिनेटमा रुबेन भर्गासले दोस्रो गोल गरे । त्यसपछि, ७२औं मिनेटमा सेड्रिक लिटेनले तेस्रो गोल गरे भने ९१औं मिनेटमा रेमो फ्रेउलेरले गोल गरेका थिए ।समूह ‘सी’ मा स्विट्जरल्यान्ड १८ अंकका साथ समूह विजेता बन्दा इटालीको खातामा १६ अंक मात्रै छ । इटालीलाई ठूलो पीडादायी बराबरीमा रोक्ने नर्दन आयल्यान्ड कुल ९ अंक बनाएर तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्