इंग्ल्यान्ड विश्वकप २०२२ मा छनोट



लन्डन, (एजेन्सी)  । 

गोलको वर्षा गर्दै इंग्ल्यान्ड आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट हुन सफल भएको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले सान मारिनोलाई १०–० गोलअन्तरले हरायो । इंग्ल्यान्डको तुलनामा सान मारिनो निकै कमजोर टिम हो ।

सो टिम फिफाको ताजा वरीयतामा अहिले २१०औं स्थानमा रहेको छ । यो जितपछि इंग्ल्यान्ड समूह विजेता बनेर सोझै विश्वकपमा छनोट हुन सफल भएको हो । घरेलु टोली सान मारिनो खेलको ६८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।इंग्ल्यान्डको फराकिलो जितमा कप्तान ह्यारी केनले चार गोल र डिफेन्डर अलेक्जान्डर अर्नोल्डले ह्याट्रिक असिस्ट गरेका थिए । इंग्ल्यान्डले एक गोलचाहिँ आत्मघातीबाट उपहारमा पाएको थियो । इंग्ल्यान्डका लागि पहिलो गोल छैटौं मिनेटमै ह्यारी मागुइरेले गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि, १५औं मिनेटमा सान मारिनोले आत्मघाती गोल गरे ।

त्यसपछि लगातार ह्यारी केनले चार गोल आफ्नो नाममा लेखाए । उनले मात्रै १५ मिनेटभित्र चार गोल गरेका थिए । त्यसमध्ये दुई गोल पेनाल्टीमार्फत् भएको थियो । उनले २७औं मिनेटमा पहिलो गोल पेनाल्टीमार्फत् गर्दा दोस्रो गोल ३१औं मिनेटमा गरे । त्यसपछि ३९औं मिनेटमा पेनाल्टीमार्फत् अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने ४२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरे । यससँगै उनले विश्वकप छनोटमा पछिल्ला दुई खेलमा सात गोल गरेका छन् । यसअघिको खेलमा पनि उनले अल्बानियाविरुद्ध ह्याट्रिक गरेका थिए ।

पहिलो हाफमै ६–० को अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा पनि चार गोल थपेको थियो । यसपटक ५८औं मिनेटमा इमिले स्मिथ रोएले गोल गरे भने ६९औं मिनेटमा टोर्ने मिङ्सले आठौं गोल थपे । त्यसपछि ७८औं मिनेटमा टमी अब्राहमले गोल गरेर अग्रता बढाउँदा खेलको ७९औं मिनेटमा युवा खेलाडी बुकायो शाकाले गोल गरेपछि खेल इंग्ल्यान्डले १०–० ले जित्यो ।यो जितपछि इंग्ल्यान्ड समूह ‘आई’ बाट २६ अंक जोड्दै सोझै विश्वकपमा छनोट हुँदा रोवर्ट लेवान्डोस्कीको टिम पोल्यान्डले भने दोस्रो स्थानमा रहँदै प्लेअफ खेल्नुपर्ने भएको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनोट खेलमा पोल्यान्ड अन्तिम खेलमा आफ्नै घरेलु मैदानमा स्तब्ध बनेको थियो ।

सोमबार राति भएको अन्तिम खेलमा पाहुना टोली हंगेरीले पोल्यान्डलाई घरेलु मैदानमा २–१ ले स्तब्ध बनाएको हो । पोल्यान्डले अब विश्वकपमा पुग्नका लागि आगामी मार्चमा प्लेअफ खेल खेल्नुपर्ने छ ।सोझै विश्वकपमा छनोट हुने सम्भावना समाप्त भइसकेकाले अन्तिम खेलमा प्रमुख खेलाडी लेवान्डोस्कीलाई भने खेलाइएको थिएन । उनीबिनाको टिम केवल औपचारिकताका लागि मात्रै खेलेको थियो । यदि पराजित भए पनि दोस्रो स्थान सुरक्षित हुने भएकाले लेवान्डोस्कीलाई यस खेलमा आराम दिइएको थियो । उनी यस खेलको टोलीमै परेका थिएनन् । तर, उनीबिनाको टिमले घरेलु मैदानमा हंगेरीसँग हार पन्छाउन सकेन ।

पोल्यान्डको घरेलु मैदानमा हंगेरीका लागि खेलको ३७औं मिनेटमा आन्द्रेज मोन्टले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६१औं मिनेटमा पोल्यान्ड खेलमा फर्कियो । कारोल स्विडरस्कीले गोल गरेर खेल १–१ बनाएका थिए । तर, ८०औं मिनेटमा पाहुना टोली हंगेरीका लागि ड्यानिएल गज्डागले गोल गरेपछि पोल्यान्ड घरमै २–१ ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्