नक्सालका विजय विजयी



नेपाल समाचारपत्र, काठमाडौं ।

नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपीन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाईबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए ।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए । पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरञ्जीवि खड्काको चुनौती समाप्त पारे ।
महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन् । महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन् ।

प्रतिक्रिया दिनुहोस्