टी–२० विश्वकपमा नयाँ टिम च्याम्पियन



नयाँदिल्ली, (एजेन्सी) ।

आईसीसी टी–२० क्रिकेट विश्वकपमा नयाँ टिम च्याम्पियन बनेको छ । दोस्रोपटक फाइनलमा पुगेको अस्ट्रेलियाले उपाधि जितेको हो । दुबईमा आइतबार राति भएको फाइनल खेलमा अस्टे«लियाले छिमेकी टिम न्युजिल्यान्डलाई हराएको हो । २०१० को फाइनलमा अस्ट्रेलिया फाइनलमा पुगेको थियो ।

योसँगै छोटो फरम्याटको विश्वकपमा विजेताको सूचीमा एक टिम थपियो । यसअघि, यस फरम्याटमा भारत (२००७), पाकिस्तान (२००९), इंग्ल्यान्ड (२०१०), श्रीलंका (२०१४) र वेस्ट इन्डिजले उपाधि जितिसकेका छन् । यसमध्ये वेस्ट इन्डिजले दुईपटक (२०१२ र २०१६) यो उपाधि जितेको छ ।

अस्ट्रेलियालाई प्रतियोगिता आयोजना हुनुअघि उपाधि दाबेदारीको रूपमा हेरिएको थिएन । कारण, प्रतियोगितामा खेल्नुअघि अस्ट्रेलियाले ५ वटा टी–२० सिरिज हारेको थियो । अर्को कारण बुढो खेलाडी राखिएको भनेर पनि कसैले यो टिममाथि विश्वास गरेका थिएनन् । तर, अस्ट्रेलिया टिमलाई बेवास्ता गर्न सकिँदैन । यो टिम क्रिकेट जगतमा फुटबलको महारथी ब्राजिल टिम सरहको हो । कुन बेला लयमा आउँछ थाहा नै हुँदैन ।

अस्ट्रेलियाले यो विश्वकपमा यसकै पुष्टि पनि गरिदियो । सही समयमा सही ब्याटिङ र बलिङ भयो । त्यसैले पनि अस्टे«लियासँग उपाधिकै दाबेदारीमा रहेका टिम पाकिस्तान र न्युजिल्यान्ड परास्त हुन बाध्य भएका थिए । समूह चरणका खेलमा भन्दा पनि सेमिफाइनल र फाइनलमा उनीहरूले च्याम्पियन बन्ने इच्छाका साथ खेले । दुवै खेलमा उनीहरूले १ सय ७० रनभन्दा बढीको लक्ष्य पार गरेका थिए ।

यो प्रतियोगिता हुनुअघि टी–२० अन्तर्राष्ट्रिय सिरिजमा अस्ट्रेलियालाई इंग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, वेस्ट इन्डिजले माथ खुवायो । यहाँसम्म कि यो टिमलाई बंगलादेशले समेत हराएको थियो । जब अस्ट्रेलिया यूएईमा पुग्यो, तब कप्तान आरोन फिन्चले बुढो टिम भनेर नहेप च्याम्पियन हुन आएका हौँ भनेर प्रतिक्रिया दिएका थिए । नभन्दै उनीहरू विश्व च्याम्पियन बन्यो ।

२००७ देखि शुरू भएको यो छोटो फरम्याटको क्रिकेट विश्वकपमा अस्टे«लिया पहिलोपटक विश्व च्याम्पियन हुनु पनि आश्चर्यको विषय नै हो । किनभने अस्ट्रेलियाले ५० ओभरको विश्वकपमा ५ पटक उपाधि जितिसकेको छ । तर, २० ओभरमा च्याम्पियन हुन अस्ट्रेलियालाई १४ वर्ष लागेको छ । यद्यपि, टिम २०१० मा फाइनल पुगेको थियो, त्यतिबेला उनीहरूको सपना इंग्ल्यान्डले तुहाइदिएको थियो ।

वार्नरको महत्वपूर्ण भूमिका

यो प्रतियोगितामा अस्ट्रेलियालाई उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेले डेभिड वार्नरले । वार्नरलाई लयमा नहुँदा उनको ब्याटिङ समाप्त भइसकेको र उनी सन्न्यास लिनुपर्छ भन्नेहरू धेरै थिए । ५ फिट ५ इन्चका अग्ला यी खेलाडी ब्याटिङको संसारमा सबैभन्दा खतरनाक ब्याटसम्यानको रूपमा परिचित छन् । तर, उनी लयमा थिएनन् ।

दुबईमै आयोजना भएको आईपीएलमा समेत उनी फ्लप भएका थिए । यहाँसम्म की सनराइजर्स हैदराबादले उनको कप्तानी भूमिकासमेत छिनेको थियो । उनलाई कप्तानबाट हटाएर प्लेइङ ११ बाट समेत बाहिर पुर्‍याइएको थियो । यति खराब थियो उनको ब्याटिङ, तर उनलाई अस्ट्रेलिया टिम छनोट र कप्तान फिन्चले विश्वास गरेर टिममा राखेका थिए ।

वार्नर प्रतियोगितामा आएर पनि शुरुवाती खेलमा जम्न सकेका थिएनन् । उनले पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १४ रन मात्रै बनाए, उनी फेरि आलोचित भएका थिए । तर, श्रीलंकाविरुद्धको खेलमा उनले ६५ रन बनाएर आलोचकको मुख टालिदिए । तेस्रो खेलमा इंग्ल्यान्डविरुद्ध उनी १ रन बनाएर पभेलियन फर्के भने बंगलादेशविरुद्ध उनले केवल १८ रनको योगदान दिए ।

वार्नरले यसपछि भने सही समयमा लय समाते । उनले वेस्ट इन्डिजविरुद्ध ९ चौका र ४ छक्का प्रहार गर्दै ८९ रनको नटआउट इनिङ खेले । यहीबाट वार्नरले विपक्षी टिमलाई सतर्क रहन चेतावनी दिएका थिए । उनको विस्फोटक ब्याटिङमा पाएको यही जितले नै टिमलाई सेमिफाइनलमा समेत पु¥याउन सहयोग भएको थियो । सेमिफाइनलमा पाकिस्तानले १ सय ७७ रनको बलियो लक्ष्य तेस्र्यायो, तर वार्नरले ३० बलमै ४९ रन जोडेर जितको आधार तयार पारिदिए । फाइनलमा वार्नरले ५३ रनको शानदार ब्याटिङ गरेर टिमलाई जिततिर अग्रसर गराएका थिए ।

अन्य खेलाडी पनि सुपर

मिचेल मार्सले यस प्रतियोगितामार्फत आफूलाई अलराउन्डर साबित गरे । उनले फाइनलमा विस्फोटक ब्याटिङ गरेका थिए । नटआउट रहेका उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरेर ७७ रनको विजयी इनिङ खेलेका थिए । उनले न्युजिल्यान्डका कोही पनि बलरलाई हावी हुन दिएनन् । ट्रेन्ट बोल्ट, इस सोढी, टिम साउदी जस्ता खतरनाक बलर पनि मार्ससामु निरिह साबित भएका थिए । साँचो त यही हो कि, अस्ट्रेलियाका हरेक खेलाडी सुपर नै छन् । यो टिममा एक खेलाडी नचलेमा अर्को खेलाडी चल्छन् ।

अस्ट्रेलिया फेरि च्याम्पियन हुनसक्ने

टी–२० विश्वकपको अर्को संस्करण २०२२ मा अस्ट्रेलियामा हुने भएको छ । घरेलु मैदानमा हुने भएकोले अस्टे«लिया फेरि एकपटक टी–२० विश्व च्याम्पियन बन्ने प्रबल सम्भावना छ । ५० ओभरको विश्वकपमा पनि अस्ट्रेलियाले पछि नै उपाधि जितेको थियो । अस्ट्रेलियाले १९७५ मा शुरू भएको यो एकदिवसीय फरम्याटको विश्वकप उपाधि १२ वर्षपछि सन् १९८७ मा पहिलोपटक जितेको थियो । जितको स्वाद चाखेपछि पहेंलो जर्सीको यो टिमले पाँचपटक उपाधि हात पारिसकेको छ । यहाँसम्म कि, १९९९, २००३ र २००७ मा लगातार जित हात पारेर उपाधिमा ह्याट्रिकसमेत गरिसकेको छ । टी–२० विश्वकपमा पनि उनीहरूले विश्व च्याम्पियनको स्वाद लिइसकेका छन् । अरू टिमले अस्ट्रेलियाली टिमसँग प्रतिस्पर्धा गर्न निकै तयारी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्