स्पेन, क्रोएसिया र सर्बिया विश्वकपमा छनोट



लन्डन, (एजेन्सी) ।

स्पेन, क्रोएसिया र सर्बियाले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गरेका छन् ।

युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्विडेनमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै कतार विश्वकपको टिकट काटेको हो ।

आफ्नो घरेलु मैदानमा खेल्दा स्पेनलाई विश्वकपमा छनोट हुन जित वा कम्तिमा बराबरीको नतिजा आवश्यक थियो । चर्को प्रतिस्पर्धा भएको सो खेलमा घरेलु टोली स्पेनले खेलभरि नै एकतर्फी पकड राखे पनि गोलका लागि भने अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।

खेल बराबरी नजिक पुगेका बेला स्पेनका लागि फरवार्ड अल्भारो मोराटाले ८६औं मिनेटमा गोल गरेका थिए । अन्ततः स्पेनको जितमा त्यही एक गोल निर्णायक साबित बन्यो । उक्त गोल बेहोरेपछि स्विडेन खेलमा फर्किन सकेन र घरेलु टोलीलाई नतिजा १–० ले सुम्पियो ।

यदि, स्पेनलाई हराउन सकेको भए स्वीडेन सोझै विश्वकपमा छनोट हुन्थ्यो । तर, हारले स्विडेनको विश्वकप यात्रामा धक्का लागेको छ । तर, स्विडेन प्लेअफमा भने जानेछ । फिफाको ड्र अनुसार स्विडेनले प्लेअफमा खेल जितेर अझै पनि विश्वकपमा छानिने सम्भावनालाई भने जीवितै राखेको छ ।

स्पेन समूह ‘बी’ बाट आठ खेलपछि १९ अंक बनाएर समूह विजेता बन्दै सोझै विश्वकपमा छानिएको हो । पराजित स्विडेन भने १५ अंकका साथ दोस्रो स्थानमा रहेर प्लेअफमा छानिएको छ । १० अंक भएको ग्रिस तेस्रो स्थानमा सीमित भयो । अघिल्लो खेलमा स्विडेन जर्जियासँग २–० ले पराजित भएपछि ग्रिसको विश्वकप यात्रा सकिएको हो ।

त्यस्तै, सन् २०१८ को रसिया विश्वकप फुटबलको फाइनालिस्ट टोली क्रोएसिया पनि अर्को वर्ष कतारमा आयोजना हुने विश्वकपमा छनोट भएको छ । आइतबार राति भएको समूह ‘एच’ को अन्तिम खेलमा क्रोएसियाले २०१८ को विश्वकप आयोजक रसियामाथि १–० को जित निकाल्दै कतार विश्वकपका लागि स्थान सुरक्षित गरेको हो ।

क्रोएसियाले आफ्नो घरेलु मैदानमा पाहुना टोली रसियामाथि १–० को जित निकाल्न पनि उपहार गोलको मद्दत लिनुपरेको थियो । लुका मोड्रिचको टिमलाई विश्वकपमा छानिन जित नै आवश्यक थियो । तर, रसियालाई भने बराबरी पनि पर्याप्त हुने समीकरण बनेको थियो । तर, घरेलु टोली क्रोएसियाले जित नै निकाल्न सफल भयो ।

क्रोएसियाले खेल पकडमा राखे पनि गोलका लागि ८१औं मिनेटसम्म कुर्नुपरेको थियो । रसियाका डिफेन्डर फ्योडर कुड्रोसभले आफ्नै पोस्टमा गोल गरेपछि क्रोएसियाको खातामा गोल दर्ता भयो । फ्योडरले डी–बक्स अगाडि विपक्षी टिमको दबाब बढेका बेला बल क्लियर गर्न नसक्दा आफ्नै खुट्टामा लागेर बलले पोस्टको दिशा लियो । अन्ततः त्यही उपहार गोल क्रोएसियालाई विश्वकपमा पु¥याउन पर्याप्त बन्यो ।
अब क्रोएसिया समूह ‘एच’ बाट १० खेलपछि २३ अंकका साथ समूह विजेता बनेर विश्वकपमा छनोट हुँदा पराजित रसिया मात्रै एक अंकले पछि परेर दोस्रो स्थानमा रहेको छ । सन् २०१८ को विश्वकप आयोजक रसियाले अब विश्वकपमा स्थान तय गर्न प्लेअफ म्याच खेल्नुपर्नेछ ।

रोनाल्डोको टिम स्तब्ध

त्यसैगरी, क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई उसैको घरेलु मैदानमा स्तब्ध बनाउँदै सर्बियाले पनि अर्को वर्ष हुने कतार विश्वकप फुटबलमा स्थान सुरक्षित गरेको छ । आइतबार राति भएको छनोटको अन्तिम खेलमा पाहुना टोली सर्बियाले पोर्चुगललाई उसैको घरमा २–१ ले हराउँदै सोझै कतार विश्वकपको यात्रा गरेको हो । सर्बियाका लागि यो निकै ठूलो र ऐतिहासिक जित हो । सोझै विश्वकपमा छनोट हुन पोर्चुगलका लागि सर्बियाविरुद्ध जित वा कम्तिमा बराबरीको नतिजा आवश्यक थियो । तर, पोर्चुगललाई पराजित नै गरेपछि सर्बियाले कतारको यात्रा तय ग¥यो । आफ्नो घरेलु मैदानमा हारेको पोर्चुगलका लागि यो निकै अप्रत्यासित र पीडादायी नतिजा हो ।

आफ्नो घरेलु मैदानमा भएको निर्णायक र दबाबपूर्ण खेलमा पोर्चुगलले खेलको १ मिनेट ४९ सेकेन्डमै अग्रता लिएको थियो । सो गोल युवा मिडफिल्डर रेनाटो सान्चेजले निकै चलाखीपूर्वक उत्कृष्ट फिनिसिङमा गरेका थिए । उनको गोलमा बर्नान्डो सिल्भाले असिस्ट गरेका थिए । सो गोलसँगै पोर्चुगलले राम्रो शुरुआत पनि गरेको थियो ।

तर, त्यसपछि पाहुना टोली सर्बिया पूरै हाबी बन्यो । पोर्चुगलविरुद्ध लगातार मुभ बनाएको सर्बिया ३३औं मिनेटमा खेलमा फर्कियो । पोर्चुगिज डिफेन्डर र गोलकिपरको गल्तीमा सर्बियाले बराबरी गोल फर्काएको थियो । दुशान टाडिकको प्रहार पोर्चुगलका गोलकिपरको हातबाट फुत्किएर गोल लाइन नाघेपछि रेफ्रीले त्यसलाई गोल घोषणा गरिदिए ।

लगातार दबाबमा परेको पोर्चुगलले खेलको ९०औं मिनेटमा पीडादायी गोल बेहोर्न पुग्यो । फ्रिकिकबाट आएको बलमा अलेक्जान्डर मिट्रोभिचले गोलपोस्टको बार च्यापेर हानेको हेडिङ बलले पोर्चुगलको जाली चुमेको थियो । उनको हेडिङ पोर्चुगिज गोलकिपरले रोक्नै सकेनन् । खेलको अन्तिम समयमा गोल बेहोरेर पीडामा परेको पोर्चुगलले चार मिनेटको इन्जुरी समयमा गोल फर्काउन नसकेपछि पोर्चुगलको मैदानमा सर्बिया २–१ ले विजयी भयो ।

यो हारपछि पोर्चुगलले विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने भएको छ । स्मरणरहोस्, २०१४ मा पनि पोर्चुगल प्लेअफबाट नै विश्वकपमा छानिएको थियो । प्लेअफमा छनोट चरणका हरेक समूहमा दोस्रो स्थानमा रहेकामध्ये कुनै टिमसँग खेल्नुपर्ने हुन्छ । जसमा मात्रै एक निर्णायक खेल हुन्छ र त्यो खेल जित्ने टिम विश्वकपमा छनोट हुन्छ । प्लेअफका लागि फिफाले ड्र घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्