पाँचपोखरी हाफ म्याराथनमा कुलुङ विजयी



नेपाल समाचारपत्र, काठमाडौं ।

चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् ।

जितसँगै कुलुङले नगद ५० हजार हात पारे । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइको पाँचपोखरीमा दौड सम्पन्न भएको हो । कुलुङले उक्त निर्धारित दूरी १ घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गरेका हुन् । दोश्रो र तेश्रो स्थानमा क्रमशः आर्मीका गोपाल तामाङ र श्रीकास राई रहे । तामाङले २ घण्टा २९ सेकेन्डमा दौड पूरा गर्दै ३० हजार नगद हासिल गरे । त्यस्तै, २ घण्टा १ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेका राईले नगद २० हजार प्राप्त गर्न सफल भए । चौथो र पाँचौ स्थानमा क्रमशः अर्जुन कुलुङ र तीर्थ तामाङ रहेका थिए । अर्जुनले १० हजार नगद हासिल गरेका थिए ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिला भइन् । तामाङले २ घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पुरा गरेकी हुन् । उनले ५० हजार नगद हासिल गरेकी छन् । त्यस्तै, सिन्धुपाल्चोककी नितु तामाङले निर्धारित दूरी २ घण्टा ४६ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै दोश्रो स्थान प्राप्त गरिन् । उनले ३० हजार नगद प्राप्त गरिन् । तेस्रो स्थानमा प्युठानकी संगीता बुढामगर र चौथो स्थानमा प्युठानकै आश्मा विश्वकर्मा गरे । उनीहरूले क्रमशः २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् । भेट्रान्स पुरुषतर्फ गोरखाका भीमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन दक्षिण एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि शुरू २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरीबाट शुरू भएको हो । ‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्