फ्रान्स र बेल्जियम विश्वकपमा छनोट



लन्डन, (एजेन्सी)।

फ्रान्स र बेल्जियम आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ ।

सन् २०१८ को विश्व च्याम्पियन फ्रान्सले युरोपियन महादेशमा जारी छनोट खेलअन्तर्गत शनिबार राति गोलको वर्षा गर्दै विश्वकपको टिकट काटेको हो । छनोटको सातौं चरणको खेलमा फ्रान्सले तुलनात्मकरूपमा कमजोर टिम कजाकिस्तानमाथि ८–० को फराकिलो जित निकाल्दै अन्तिम खेलअघि नै आफ्नो समूहको विजेता बनेर विश्वकपमा छानिन सफल भएको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई रवाफपूर्ण जित दिलाउनेक्रममा युवा फरवार्ड क्लियन एमबाप्पे नायक साबित भए । उनले एकै खेलमा चार गोल गर्नुका साथै एक असिस्ट पनि गरे । त्यसैगरी, अर्का फरवार्ड करिम बेन्जेमाले पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल आफ्नो नाममा लेखाए । यस खेलमा एन्टोनी ग्रिजम्यानको पनि प्रदर्शन सम्झनलायक बन्यो ।

फ्रान्सका लागि पहिलो गोल खेलको छैटौं मिनेटमै एमबाप्पेले हर्नान्डेजको पासमा गरेका थिए । त्यसको ६ मिनेटपछि एमबाप्पेले नै व्यक्तिगत दोस्रो गोल गरेर अग्रता दोब्बर पारे । यसपटक उनको गोलमा किङ्स्ले कोमानले असिस्ट गरे । त्यसपछि ३२औं मिनेटमै एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गरे । खेलको ५५औं मिनेटमा बेन्जेमाले पहिलो गोल गरे । त्यसपछि, ५९औं मिनेटमा एमबाप्पेको असिस्टमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ५–० ले अघि भएको थियो । फ्रान्स त्यत्तिमै अडिएन । फ्रान्सका लागि ७५औं मिनेटमा ग्रिजम्यानको पासमा आड्रेन राबिओटले गोल गरेर गोल संख्या आधा दर्जन पु¥याए ।

त्यसपछि, फ्रान्सले सातौं मिनेटमा पेनाल्टी पायो । यसपटक ग्रिजम्यानले पेनाल्टीलाई गोलमा परिणत गरेपछि खेलमा फ्रान्स ७–० ले अघि भयो । खेलको ८७औं मिनेटमा एमबाप्पेले व्यक्तिगत चौथो गोल गरेपछि फ्रान्सले ८–० को जित पक्का ग¥यो । फ्रान्सका लागि यो यस विश्वकप छनोटको चौथो जित हो भने बाँकी तीन खेल भने बराबरी गरेको छ ।

त्यसैगरी, वर्तमान फिफा वरीयताको शीर्ष स्थानको टिम बेल्जियम पनि अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छानिन सफल भयो । शनिबार राति भएको सातौं चरणको खेलमा बेल्जियमले आफ्नो घरेलु मैदानमा इस्टोनियालाई ३–१ ले हराउँदै विश्वकपको यात्रा पक्का गरेको हो । अन्तिम एक खेल बाँकी छँदासम्म बेल्जियमले आफ्नो अपराजित यात्रालाई पनि जारी नै राखेको छ ।

बेल्जियमलाई घरेलु मैदानमा जिताउन तीन जना खेलाडीले गोल गरेका थिए । पहिलो गोल खेलको ११औं मिनेटमा क्रिस्टिएन बेन्टेकेले गरेका थिए । त्यसपछि, अर्को गोल खेलको ५३औं मिनेटमा बेन्टेकेको पासमा यानिक कारास्कोले गर्दै घरेलु टोलीलाई जिततर्फ अघि बढाएका थिए । पाहुना टोली इस्टोनियाका लागि खेलको ७०औं मिनेटमा इरिक सोर्गाले गोल गरेर खेल २–१ बनाए ।

तर, खेलको ७४औं मिनेटमा बेल्जियमले तेस्रो गोल थप्यो । यसपटक केभिन डे ब्रुयेनेको पासमा थ्रोगान हाजार्डले गोल गरेपछि बेल्जियमको ३–१ को जित पक्का भयो । यो जितपछि बेल्जियम समूह ‘ई’ बाट अन्तिम खेलअघि नै समूह विजेता बनेर विश्वकपमा छानिन सफल भएको छ । बेल्जियमको १९ अंक छ भने दोस्रो स्थानको वेल्सको १४ अंक रहेको छ ।

वेल्सको महत्वपूर्ण जित

स्टार फरवार्ड ग्यारेथ बेलको टिम वेल्सले विश्वकप छनोट यात्रामा कठिन अवस्थामा रहेको बेला शनिबार राति महŒवपूर्ण जित निकालेको छ । छनोटको सातौं चरणको खेलमा आफ्नो घरेलु मैदानमा वेल्सले पाहुना टोली बेलारुसमाथि ५–१ को फराकिलो जित निकालेको हो । यो जितपछि वेल्सलाई प्लेअफको बाटो खुला भएको छ । तर, वेल्सको भाग्य अन्तिम खेलले नै निर्धारण गर्नेछ ।

घरेलु मैदानमा वेल्सलाई जिताउन आरोन राम्से नायक बने । उनले दुई गोल योगदान गरे । पहिलो गोल राम्से आफैंले गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि, दोस्रो गोल खेलको २०औं मिनेटमा नेको विलियम्सले गरेपछि वेल्सले पहिलो हाफसम्म २–० को अग्रता बनायो । खेलको ५०औं मिनेटमा वेल्सका लागि राम्सेले पेनाल्टीमार्फत् व्यक्तिगत दोस्रो गोल गरे ।

त्यसपछि, चौथो गोल खेलको ७७औं मिनेटमा बेन डेभिसले गरेपछि वेल्स फराकिलो जिततर्फ अघि बढेको थियो । तर, ८७औं मिनेटमा बेलारुसका लागि एन्टोम कोन्ट्सेभोएले गोल गरेपछि खेल ४–१ भए पनि ८९औं मिनेटमा वेल्सका लागि कोनर रोर्वेट्सले पाँचौं गोल थपेपछि वेल्सको ५–१ को जित पक्का भयो । यो जित वेल्सका लागि ज्यादै महत्वपूर्ण बनेको छ । समूहको दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्न वेल्सलाई फराकिलो गोलअन्तरको जित आवश्यक छ । यो खेलको ५ गोलको मद्दतमा वेल्सलाई फाइदा भएको छ ।

ताजा अवस्थामा समूह ‘ई’ मा वेल्स अन्तिम एक खेल बाँकी रहेको अवस्थामा १४ अंकका साथ दोस्रो स्थानमा छ । ११ अंक भएको चेक रिपब्लिक तेस्रो स्थानमा छ । अब दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गर्न वेल्सलाई अन्तिम खेलमा जित वा कम्तिमा बराबरी गर्नैपर्छ । यदि, पराजित भएमा र चेकले आफ्नो खेल जितेमा भने वेल्सलाई प्लेअफमा पुग्न कठिन हुनेछ । अब समूहको अन्तिम खेलमा वेल्सले विश्वकपमा छनोट भइसकेको बेल्जियमको सामना गर्नेछ ।

नेदरल्यान्ड्स खतरामा

त्यसैगरी, शुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्सको कतार विश्वकप छनोट खतरामा परेको छ । युरोपियन महादेशमा जारी छनोटमा नेदरल्यान्ड्स समूहको नवौं चरणको खेलमा अवे मैदानमा तुलनात्मकरूपमा कमजोर टिम मोन्टेनेग्रोसँग २–२ को बराबरीमा रोकिन बाध्य भयो । खेलको ५४औं मिनेटमा पुग्दा पाहुना टोली नेदरल्यान्ड्सले २–० को अग्रता बनाए पनि खेलको अन्तिम समयमा त्यसलाई बचाउन नसक्दा चार मिनेटभित्र दुई गोल बेहोर्‍यो ।

नेदल्यान्ड्स अहिले आफ्नो समूहको शीर्ष स्थानमा छ । तर, अन्तिम खेलमा खराब नतिजा आए संकटमा पर्नेछ । नेदरल्यान्ड्सका लागि अन्तिम खेल नै निर्णायक हुनेछ । शनिबार रातिको खेलमा नेदरल्यान्ड्सका लागि दुवै गोल फरवार्ड मेम्फिस डिपाएले गरेका थिए । उनले पहिलो गोल २५औं मिनेटमा गर्दा दोस्रो गोल ५४औं मिनेटमा पेनाल्टीबाट गरेका थिए ।

तर, त्यसपछि घरेलु टोली मोन्टेनेग्रोले उत्कृष्ट कमब्याक गर्न सफल भयो । मोन्टेनेग्रोले निर्धारित समय सकिन चार मिनेट बाँकी छँदा दुई गोल फर्काएर नेदरल्यान्ड्सलाई झट्का दियो । घरेलु टोलीका लागि ८२औं मिनेटमा इलिजा भुकोटिचले गोल गरेर खेल २–१ बनाए । पहिलो गोल बेहोरेपछि दबाबमा परेको नेदरल्यान्ड्सले लगत्तै अर्को गोल पनि बेहो¥यो । यसपटक ८६औं मिनेटमा निकोला भुजोनोभिचले गोल गर्दै नेदरल्याड्ससँग अंक खोस्न सफल भयो ।

यो बराबरीपछि नेदरल्यान्ड्स समूह ‘जी’ मा २० अंकसहित शीर्ष स्थानमा रहेको छ । शीर्ष स्थानमा भए पनि छनोटका लागि अन्तिम खेलको आफ्नो नतिजा र अन्य टोलीको नतिजामा भर पर्नेछ । समूहको दोस्रो र तेस्रो स्थानमा टर्की र नर्वेको समान १८ अंक हुनु नेदरल्यान्ड्सका लागि टाउको दुखाइ हो ।

अन्तिम खेलमा नेदल्यान्ड्सले नर्वेको सामना गर्नेछ । उक्त खेलमा कम्तिमा बराबरी मात्रै गरे पनि नेदरल्यान्ड्स विश्वकपमा सोझै छनोट हुनेछ । तर, यदि पराजित भएमा भने नर्वेको खातामा २१ अंक हुनेछ, जुन नेदल्यान्ड्सको भन्दा एक अंक बढी हो । सोही समूहको अर्को खेलमा टर्कीले पनि आफ्नो अन्तिम खेल जितेमा नेदल्यान्ड्स प्लेअफमा जान नसक्ने अवस्था सिर्जना हुन्छ । तसर्थ, नेदरल्यान्ड्सलाई अन्तिम खेलमा जित वा कम्तिमा बराबरी अनिवार्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्