मुस्ताङमा ३० वर्षयताकै ठूलो हिमपहिरो, भागदौडमा ११ घाइते



दुर्गाप्रसाद शर्मा, पर्वत ।

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिमपहिरोका कारण ११ जना घाइते भएका छन् । धौलागिरि हिमशृंखलाबाट शुरु भएको ठूलो हिमपहिरो थासाङ गाउँपालिका–२ कोवाङसम्म आइपुग्ने डरमा भागदौड मच्चिँदा विद्यार्थी र सर्वसाधारण गरी ११ जना घाइते भएका हुन् ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार पहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागाभाग हुँदा कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी तथा स्थानीय गरेर ११ जना सामान्य घाइते भएका छन् । घाइतेको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ ।

थासाङ गाउँपालिकाको याङदाङ चौंरीखर्कमा गएको हिमपहिरोको चिसो र आवाज तथा धूलोले तल्लो बस्ती प्रभावित भएको बताउँदै सहायक प्रजिअ ढकालले भन्नुभयो– ‘पहिरो बस्तीसम्म आएको छैन, त्यसले मानवीय क्षति पनि भएको छैन ।’ उहाँले तत्काल नदीसम्म पहिरो आउने र तल्लो तटीय क्षेत्रमा समेत जोखिममा पर्ने अवस्था भने नभएको बताउनुभयो । स्थानीयबासीका अनुसार ३० वर्षपछि पहिलोपटक यति ठूलो हिमपहिरो खसेको हो ।

करिब ५ किलोमिटर माथिबाट आएको हिमपहिरो नाउरीकोट माथिल्लो क्षेत्रसम्म आएको थियो । झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोमा परेर आधा दर्जन चौंरीगोठमा क्षति पुगेको छ । सहायक प्रजिअ ढकालले चांैरी हराएको सूचना आएको तर गोठमा गोठाला भए नभएको भने जानकारीमा नआएको बताउनुभयो । उच्च हिमाली क्षेत्रमा पहिरो गएकाले पूर्ण क्षतिको विवरण आउन भने केही समय लाग्ने भए तापनि १ सयभन्दा बढी चौंरी पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्