बाह्रबिसे कप मंसिरमा हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘बाह्रबिसे कप’ खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिल्क ग्रुपको प्रायोजनमा प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । बाह्रबिसे नगरपालिकाको सहयोगमा सिन्धुपाल्चोक जिल्लाकै हालसम्मको धेरै धनराशी

भएको उक्त प्रतियोगिता मंसिर १६ देखि १८ गतेसम्म हुनेछ ।
प्रतियोगितामा चार इभेन्ट्स समेटिएको आयोजक खुर्सानीबारी खेलकुद कभर्डहलका अध्यक्ष तथा प्रतियोगिता संयोजक पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३ सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्ट्स समावेश गरिएको छ ।

पुरस्कारमा मात्रै ५ लाख ५० हजार रुपैयाँ रहेको छ । पुरुष डबल्समा राष्ट्रिय वरीयताको शीर्ष २० मा रहेका खेलाडीले भाग लिन पाउने छैनन् । स्थानीयस्तरको खेलाडीको बाक्लो सहभागिताका लागि एकलतर्फका शीर्ष २० खेलाडीलाई भाग लिन नदिइएको संयोजक श्रेष्ठले बताए ।
खेलाडीको आउने जाने र बसोबासको व्यवस्था आयोजकले गर्ने र अनुमानित ३५ लाख बजेट रहेको बताए । बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्जो शेर्पाले सिन्धुपाल्चोकले यसभन्दा अघि विभिन्न प्राकृतिक प्रकोप भोगेको र खेल विकासमा लक्ष्यअनुसार जान नसकेको बताउँदै यसपटक ब्याडमिन्टनमार्फत बाह्रबिसेलाई चिनाउने प्रयास गरिने बताए । प्रतियोगिताको लागि बाह्रबिसे नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले स्तरीय प्रतियोगिताको चाहनाअनुरूप यसपटक राष्ट्रियस्तरको प्रतियोगितालाई सहयोग गरिएको बताए । प्रतियोगिताको लागि सिल्क ग्रुपको तर्फबाट अन्तर्राष्ट्रियस्तरको १० लाख रुपैयाँ बराबरको दुईवटा सेन्थेटिक म्याट आयोजकलाई प्रदान गरेको छ ।

प्रतियोगिताको पुरुष एकलतर्फको विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुने दुवै जनाले समान ३०–३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष डबल्सको विजेताले १ लाख, दोस्रो हुने टोलीलाई ५० हजार र तेस्रो हुनेलाई २५–२५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिला एकलको विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र सेमिफाइनलमा पराजित हुनेले समान १२ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स डबल्स (४५ वर्षमाथि) को विजेता, उपविजेता र तेस्रो हुनेले गिफ्ट ह्याम्परसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स (शीर्ष एकल २० बाहेक), महिला एकल र भेट्रान्स डबल्स (४५ वर्षमाथि) को इभेन्ट्स समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्