बैतडीको विजयी शुरुआत



विनोद सिंह विष्ट, बैतडी ।

वाईवाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी शुरुआत गरेको छ ।

शनिबार सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो । एक सय ६५ रनको लक्ष्य पन्छाएको दार्चुला २४ दशमलव २ ओभरमा मात्रै ४८ रनमा सीमित भयो । दार्चुलाको लागि दिनेश विष्टले सर्वाधिक १४ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन् । दार्चुलाको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहरा ५ विकेट लिए । यस्तै, भूपेन्द्र चन्दले ३, वीरेन्द्र नाथ र प्रदीप चन्दले एक/एक विकेट हात पारे । बैतडीले २४ रन अतिरिक्त खर्चिएको थियो ।

त्यसअघि, कञ्चनपुरको कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३० दशमलव ४ ओभरमा एक सय ६४ रनमा अलआउट भएको थियो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए । त्यस्तै, कप्तान डकबहादुर बोहराले ३८ र ‘म्यान अफ द म्याच’ घोषित गजेन्द्र बोहराले २२ रनको पारी खेले । दार्चुलाका विपीन धामी, वीरेन बम र वीरेन्द्र विष्टले समान ३/३ विकेट झारे । कञ्चनपुरको खुलामञ्च मैदानमा भएको अर्को खेलमा कञ्चनपुरले र बझाङलाई हराएको छ ।

कञ्चनपुरमा कात्तिक २४ गतदेखि जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको छ । छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको १९ वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोली उक्त उमेर समूहको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनामा मंसिर ४ गतेदेखि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्