विश्वकप छनोटमा इटाली बराबरीमा रोकियो



लन्डन, (एजेन्सी) ।

युरो कप च्याम्पियन इटाली फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत युरोपियन महादेशमा जारी छनोट खेलमा बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको सातौं चरणको खेलमा इटाली आफ्नै घरेलु मैदानमा पाहुना टोली स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो । इटालीको राष्ट्रिय रंगशाला स्टेडियो ओलम्पिकोमा भएको खेलमा इटालीले अन्तिम समय ९०औं मिनेटमा पाएको पेनाल्टीमा चुक्दा घरेलु मैदानमा जितबाट वञ्चित बनेको हो । त्यसअघि, पाहुना टोली स्विट्जरल्यान्डले खेलको ११औं मिनेटमा इटालीविरुद्ध गोल गरेर शुरुआती अग्रता लिएको थियो ।

तर, खेलको ३६औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो । यसपटक जिओभानी डि लोरेन्जोले गोल गरेर खेल १–१ को बराबरी बनाए । त्यसपछि, इटालीले खेल जित्ने सुनौलो अवसर थियो । इटलीले ९०औं मिनेटमा पेनाल्टी पायो । तर, जर्जिन्होले हानेको पेनाल्टी पोस्टभन्दा माथिबाट आकासिएपछि इटाली १–१ मा चित्त बुझाउन बाध्य भयो ।

यो बराबरीपछि इटाली समूह ‘सी’ मा १५ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान १५ नै अंक भएको स्विट्जरल्यान्ड दोस्रो स्थानमा छ । दुवैको १५ अंक भए पनि स्विट्जरल्यान्डको भन्दा दुई गोल बढी गरेका आधारमा इटाली समूहको शीर्ष स्थानमा रहेको हो ।

त्यस्तै, अर्को खेलमा टोलीका कप्तानसमेत रहेका फरवार्ड ह्यारी केनले कीर्तिमानी ह्याट्रिक गोल गर्दा इंग्ल्यान्डले पनि फिफा विश्वकप छनोट खेलमा सानदार जित निकाल्यो । शुक्रबार राति भएको नवौं चरणको खेलमा इंग्लिस टिमले आफ्नो घरेलु मैदानमा पाहुना टोली अल्बानियामाथि ५–० को फराकिलो गोलअन्तरको जित निकालेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान केन नायक बने । उनले ह्याट्रिक गर्नुका साथै एक गोलमा असिस्ट समेत गरे । उनले मात्रै २८ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए । इंग्ल्यान्डको जितमा खेलको नवौं मिनेटमा ह्यारी मागुइरेले हेडिङमार्फत् सानदार पहिलो गोल गरेर टिमलाई शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि, १८औं मिनेटमा केनले हेडिङमार्फत् सुन्दर गोल गरेर आफ्नो खाता खोलेका थिए । त्यसपछि, २८औं मिनेटमा जोर्डन हेन्डर्सनले गोल गरेर खेल ३–० बनाए । उनको गोलमा केनले उत्कृष्ट असिस्ट प्रदान गरेका थिए ।

खेलको ३३औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि केनले पहिलो हाफको इन्जुरी समयमै आफ्नो ह्याट्रिक पूरा गरे । यसपटक उनले बक्स अघिबाट ओभरहेड किकमा गोल गरेपछि इंग्ल्यान्डले पहिलो हाफमा ५–० को अग्रता बनायो । दोस्रो हाफमा थप गोल नभएपछि इंग्ल्यान्डले सोही अग्रता बचाएर एकपक्षीय ढंगले खेल जित्यो । यो जितपछि इंग्ल्यान्डले समूह ‘आई’ मा ९ खेल सकिँदा २३ अंक जोडेको छ । पोल्यान्ड २० अंकका साथ दोस्रो स्थानमा रहेको छ भने इंग्ल्यान्डसँग पराजित अल्बानियाको १५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्