आल्भेस दोस्रोपटक बार्सिलोनामा अनुबन्धित



(Rio de Janeiro – RJ, 07/07/2019) Presidente da República, Jair Bolsonaro, e o Presidente da Confederação Sul-Americana de Futebol (CONMEBOL), Alejandro Domínguez, durante entrega da premiação da Copa América 2019. Foto: Clauber Cleber Caetano/PR

मेड्रिड, (एजेन्सी) ।

ब्राजिलका भेट्रान डिफेन्डर ड्यानी आल्भेस बार्सिलोनामा दोस्रोपटक अनुबन्धित भएका छन् ।

३८ वर्षीय अनुभवी राइट ब्याक आल्भेस क्लब छाडेको पाँच वर्षपछि पुनः क्याटलान क्लबमा फर्केका हुन् । बार्सिलोनाले अधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै ब्राजिलियन खेलाडीलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

यसपटक बार्सिलोनाले आल्भेससँग सिजन २०२१–२२ को अन्त्यसम्मका लागि सम्झौता गरेको जनाइएको छ । तर, उक्त सम्झौता थप एक वर्षसम्म लब्याउन सकिने विकल्प पनि पनि राखिएको छ । आल्भेसलाई बढ्दो उमेरमा पनि बार्सिलोनाले अनुबन्ध गर्नुको मुख्य कारण नयाँ प्रशिक्षक जाभी हर्नान्डेज हुन् । बार्सिलोनामा सन् २००८ देखि २०१५ सम्म सँगै खेलेका यी दुईबीच निकै राम्रो सम्बन्ध छ । जाभी नयाँ प्रशिक्षकमा नियुक्त भएसँगै उनैले आल्भेसलाई पुनः क्लबमा फर्काउन छलफल थालेका थिए, जसमा दुई दिनभित्र नै सम्झौता टुंगोमा पुगेको हो ।

यसअघि, आल्भेसले बार्सिलोनामा सन् २००८ देखि २०१६ सम्म खेलेका थिए । त्यसक्रममा उनले विभिन्न २३ उपाधि जितेका थिए । जसमा ६ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिग उपाधि पनि सामेल छन् । बार्सिलोनामा उनले लामो समय बिताउँदा ३ सय ९१ म्याच खेल्दै २१ गोल गरेका थिए । उनी सन् २००८ देखि २०१६ सम्म बार्सिलोनामा लिओनल मेसीलाई गोलका लागि सर्वाधिक असिस्ट गर्ने खेलाडीसमेत हुन् ।

आल्भेस २०१६ मा बार्सिलोना छाडेर इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्समा पुगेका थिए । त्यहाँ एक सिजन खेलेका उनले फ्रेन्च क्लब पीएसजीमा भने दुई सिजन बिताएका थिए । त्यसपछि, उनी २०१९ मा ब्राजिलकै घरेलु क्लब साओ पाओलोमा अनुबन्ध भए । त्यहाँ उनले तीन सिजन बिताउने क्रममा ९५ म्याचमा १० गोल गरेका छन् । लामो समय युरोपियन क्लब फुटबलमा बिताएपछि करिअरको अन्त्यतिर घरेलु लिगमा पुगेका उनी अहिले पुनः युरोपियन फुटबलमा फर्किएका छन् । जारी सिजन निकै संघर्ष गरिरहेको बार्सिलोनाको रक्षापंक्तिमा अब आल्भेसको आगमनपछि सुधार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्