विश्वकपमा छनोट भएका तीन राष्ट्र



SOCCER-WORLDCUP-MKD-GER/REPORT

लन्डन, (एजेन्सी) ।

कतार विश्वकपका लागि हालसम्म कति देश छनोट भइसकेको होला भनेर कौतुहलता लाग्न सक्छ । यहाँ त्यसैबारे चर्चा गरिएको छ । यो समाचार तयार पार्दासम्म फिफा विश्वकपका लागि आफ्नो स्थान तय गर्नेमा तीन देश मात्रै रहेका छन् । जसमध्ये चार पटकका विश्व च्याम्पियन जर्मनी कतार विश्वकपका लागि छनोट हुने पहिलो देश हुन् ।

जर्मनीले अन्तिमपटक अघिल्लो अन्तर्राष्ट्रिय विश्राम भएकै बेलामा अक्टोबर १२ मा उत्तरी म्यासेडोनियालाई ४–० गोलअन्तरले हराउँदै विश्वकपमा स्थान पक्का गरेको थियो । समूह ‘जे’ मा रहेको जर्मनीले खेलेका ८ खेलमध्ये जम्मा ७ खेलमा स्पष्ट जित निकालेको छ भने एक खेल बराबरी गरेको छ । अन्तिम दुई खेल बाँकी छँदा जर्मनीले २१ अंक जोडेर विश्वकपको यात्रा तय गरेको हो । जर्मनीले यदि अब अन्तिम २ खेल हारे पनि समूहको पहिलो टोली बन्ने पक्का नै छ ।

त्यसैगरी, डेनमार्कले पनि कतार विश्वकपका लागि आफ्नो स्थान तय गरिसकेको छ । डेनमार्कले अस्ट्रियामाथि १–० को जित निकालेपछि विश्वकपका लागि छनोट भएको हो । डेनमार्कले छनोटमा आठ म्याच खेल्दा शतप्रतिशत जित निकालेको छ । डेनमार्कले पछिल्ला आठ खेलमा विपक्षीविरुद्ध २७ गोल गरेको छ भने एक गोल पनि बेहोरेको छैन । जारी विश्वकप छनोटमा आठ खेल सकिँदा सबै खेल जित्दै सबैमा क्लिन सिट राख्ने डेनमार्क एक मात्रै देश हो ।

त्यसैगरी, आयोजकको हैसियतले कतार स्वतः विश्वकपमा छनोट हुने अर्को राष्ट्र हो । फिफाको नियमअनुसार प्रतियोगिता आयोजना गर्ने देश स्वतः विश्वकपमा छनोट हुने व्यवस्था रहेको छ । आयोजक देशले छनोट म्याच खेल्नु पनि पर्दैन । तसर्थ, कतार विश्वकप आयोजक देशको हैसियतमा स्वतः छनोट भइसकेको छ । यसरी हेर्दा हालसम्म विश्वकपमा छनोट हुने देशमा जर्मनी, डेनमार्क र कतार रहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा अहिले अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट खेलहरू जारी छन् । सबै महादेशमा छनोट खेल चलिरहँदा युरोपियन महादेशमा अब अन्तिम दुई चरणका खेल मात्रै बाँकी छन् । उता, दक्षिण अमेरिकी महादेशमा अझै ६ चरणका खेल बाँकी रहेका छन् । त्यस्तै, अफ्रिका महादेशमा पनि अन्तिम दुई चरणका खेल मात्रै बाँकी रहेका छन् । सबैभन्दा चाँडै छनोट खेल अमेरिकी महादेश बाहेकका अन्य क्षेत्रमा सकिने छन् ।

प्रतिक्रिया दिनुहोस्