न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसको १४औ महाधिवेशन मिति नजिकिँदै जाँदा देशभरका आमकांग्रेसी कार्यकर्तामा उत्साह छाएको छ । ठूला चाडवाड सकिएसँगै महाधिवेसनको चहलपहल बढ्दा देश कांग्रेसमय भएको छ ।
सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको आसन्न महाधिवेशनबाट कस्तो नीति र नेतृत्व स्थापित हुने हो भन्नेतर्फ कांग्रेसमात्रै होइन अन्य दलमा समेत चर्चा हुँदा देश कांग्रेमय भएको हो ।
केही जिल्लाको सामान्य विवादबाहेक अधिकांश जिल्लाको वडा तहको निर्वाचन सम्मपन्न भइसकेको छ । महाधिवेशनको प्रक्रिया शुरू भएपछि देशव्यापीरूपमा महाधिवेशनको सारगर्मी ह्वात्तै बढेको हो । महाधिवेशनकोे प्रक्रिया शुरू भएपछि केन्द्रीय नेतृत्व तथा जिल्ला, क्षेत्र, प्रदेश तहमा समेत आफ्नो उम्मेदवारी घोषणामा नेता कार्यकर्ता सक्रिय छन् ।
यसैबीच लुम्बिनी प्रदेशअन्तर्गत रहेको अर्घाखाँचीमा पनि वडा र पालिका तहको निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै अर्घाखाँचीमा जिल्ला तहका नेताबीच नेतृत्व लिने सन्दर्भमा प्रतिस्पर्धा देखिएको छ । जसमा नेपाली कांग्रेसका युवा नेता अशोक टण्डनले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्लातर्फ) आफ्नो उम्मेदवारी घोषणा गरेपछि जिल्लामा एक किसिमको तरङ उत्पन्न भएको छ । क्षेत्रीय सन्तुलन र विपक्षी दलबाट दबिएका कांग्रेसजनलाई उत्साहित गराउनका निम्ति पनि टण्डनलाई विजयी गराउनुपर्नेमा अर्घाखाँचीका कांग्रेसहरूबीच छलफल भएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।
कम्युनिस्टहरू आधार इलाका मानिने अर्घाखाँचीको पश्चिम क्षेत्र हंसपुरलगायतका गाउँमा कांग्रेसको संगठन जोगाउँदै नेपाल विद्यार्थी संघको राजनीतिमा क्रियाशील भएका अशोक टण्डन नेवि संघको इलाका अध्यक्ष भएर काम गर्नु भएको थियो । विपक्षीहरूको पटक–पटक भौतिक आक्रमण, धम्की, प्रभोलनका बीचमा नेविसंघको राजनीतिमा सक्रिय टण्डनले संगठन विस्तारका लागि निरन्तर खटिनुभएको थियो । जिल्लाको पशिचमी क्षेत्रमा पार्टीको संगठन कमजोर भए पनि निरन्तर संगठन सुदृढिकरणमा लाग्नुभएको टण्डनले कांग्रेस पार्टीलाई आफ्नो घर ठान्ने र आमकांग्रेसलाई सधैं पारिवारिक सदस्य मान्ने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । जिल्लामा बाहेक पेशागत जिम्मेवारीका क्रममा काठमाडौंमा रहँदा पनि पार्टीका हरेक आन्दोलन तथा क्रियाकलापमा सक्रिय उहाँ पटक–पटक गिरफ्तारीमा समेत पार्नुभएको थियो ।
अध्ययन र जागिरको क्रममा काठमाडौं हुँदा अर्घाखाँचीका युवा विद्यार्थीका लागि उहाँ अभिभावकजस्तै हुनुहुन्थ्यो । स्थायी जागिर छोडेर पूर्णकालीन राजनीतिमा सक्रिय टण्डन पार्टीभित्र विसक्त भएर मौलाउँदै गएको गुट उपगुटको राजनीतिले निस्कृय तथा दुःखी बनेका आमकार्यकर्तालाई पुनः गोलबद्ध गरी बलियो र एक ढिक्का कांग्रेस निर्माण गर्न आफूले उम्मेदवारी दिएको बताउनुहुन्छ । जागिर छोडेर किन राजनीतिमा लाग्नुभयो भन्ने हाम्रो प्रश्नमा टण्डन भन्नुहुन्छ–‘हामी सबैले राजनीति फोहोर भयो भन्ने, नेताहरूलाई गाली गर्ने तर आफै सफा गर्ने र नेता र पार्टीलाई सुधार गर्नेतर्फ प्रयास नगर्ने बानी छ । त्यो बानीलाई हटाउन राजनीतिमा पुनः सक्रिय भएको हुँ ।’
पुराना नेताको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको अनुभवलाई युवाहरूको जोशसँग समायोजन गर्दै पार्टी नेतृत्वमा रूपान्तरणको आवश्यकता रहेको टण्डनको भनाइ छ । अबको कांग्रेस नेतृत्व युवा पुस्ताले गर्नुपर्छ भन्ने समयको माग छ । तर, त्यसका लागि युवा आफै हिम्मतका साथ अगाडि बढनुपर्ने नेतृत्व कसैले दिएर लिने नभई विचार, दृष्टिकोण र संगठन लिनुपर्ने उहाँको स्पष्ट धारणा छ ।
टण्डनले २०४५ सालदेखि नेविसंघमा सक्रिय भई २०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहँदै निरन्तर काम गर्दै आउनु भएको छ । अशोक टण्डनको उम्मेदवारीले अर्घाखाँची जिल्लाको सबैभन्दा बढी मतदाता भएको तत्कालीन हंसपुर गाविस साथै गोखुंगा, ढाकावाङ, धारापानी, बाँगीका कार्यकर्तामा उत्साह बढेको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै गर्दा तपाईंका एजेन्डाहरू के छन् भन्ने हाम्रो प्रश्नमा टण्डनको भन्नुहुन्छ–‘अबको कांग्रेस गुट उपगुटको होइन, सबै गोलबद्ध एक ढिक्का नेपाली कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी हो ।
नयाँ विचार र दृष्टिकोणसहित चलायमान नेतृत्वको कांग्रेस बनाउनका लागि । सबै जातजाति, भाषाभाषी, महिला, अल्पसंख्यक, युवा एवम् इमान्दार कार्यकर्ताहरुको आवाजलाई बुलन्द गर्दै सधैं नेतृत्वसमक्ष कार्यकर्ताको भावना प्रतिनिधित्व गराउनका लागि ।
त्यस्तै लोकतान्त्रिक विधि, विधान र पद्दतिमा चल्ने समयको मागसहितको विचार बोक्ने पार्टी नेपाली कांग्रेस बनाउनका लागि । कुशल नेतृत्व, असल आचरण र आर्थिक पारदर्शीतासहित देशप्रेमी र विकासप्रेमी पार्टी कांग्रेस हो भन्ने अनुभूति दिलाउनका लागि मैले उम्मेवारी दिएको हुँ ।’
चुनाव प्रजातान्त्रिक अभ्यास भएको उल्लेख गर्दै सबैको जित हुन्छ भन्ने संस्कार बसाल्नका लागि पनि उम्मेदवारी दिएको टण्डनले बताउनुभयो । राजनीतिमा नैतिकता कायम गरांै, आमचुनावमा कांग्रेसले कांग्रेसलाई सहयोग गरौं, अन्य पार्टीलाई भित्री रुपमा गर्ने सहयोग बन्द गरांै । यस्ता भाइरसलाई पार्टीको कुनै पनि तहमा नराखौं भन्ने आवाजलाई बुलन्द गराउनको लागि तथा जिल्लाको सबैभन्दा बढी मतदाता भएको क्षेत्रबाट एक जना मात्र केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार भएको हुँदा सो क्षेत्रको संगठन मजबुत बनाउनका लागि आफू बलियो उम्मेदवार रहेको टण्डनको दाबी छ ।











प्रतिक्रिया