फाती डेढ महिना मैदान बाहिर



लन्डन, (एजेन्सी) ।

खेलको दौडानमा घाइते भएका स्पेनिस क्लब बार्सिलोनाका युवा स्ट्राइकर अंशुु फाती करिब डेढ महिना मैदान बाहिर रहने भएका छन् ।

स्पेनिस लालिगाअन्तर्गत शनिबार राती भएको सेल्टा भिगोविरुद्धको खेलमा उनी घाइते भएका थिए । सेल्टा भिगोविरुद्ध पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका फाती चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा तीन गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना ३–३ गोलको बराबरीमा रोकिएको थियो ।

बार्सिलोनाले हालसम्म फाती कहिलेसम्म मैदान बाहिर रहने आधिकारिक रूपमा सार्वजनिक नगरे पनि केही स्पेनिस सञ्चारमाध्यमले फाती डेढ महिना मैदान बाहिर रहनसक्ने सार्वजनिक गरेका हुन् । फाती केही हप्ताअघि मात्र १० महिने लामो घुँडाको चोटबाट मुक्त हुँदै मैदान फर्किएका थिए । चोटमुक्त भएर फर्किएपछि फातीले बार्सिलोनाबाट आठ खेलमा चार गोल गरेका थिए ।

चोटका कारण फाती केही समय मैदान बाहिर रहेन पक्का देखिएसँगै क्लबका नयाँ प्रशिक्षकमा नियुक्त भएका जाभी हर्नान्डेजले स्ट्राइकरको निकै कम विकल्पसँगै प्रशिक्षण शुरू गर्नुुपर्ने देखिएको छ । बार्सिलोनाका स्ट्राइकर सर्जियो अग्युइरो र हालैमात्र इन्जुरीबाट फर्किएका ओस्मान डेम्बेले फेरी घाइते भएपछि जाभीका लागि स्ट्राइकरको विकल्प खुम्चिएको हो ।

प्रतिक्रिया दिनुहोस्