जिम्नास्टिक टोलीलाई प्रमाण पत्र



नेपाल समाचारपत्र, काठमाडौं ।

पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्नास्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरियो ।

नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरूलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले प्रतिस्पर्धा गरेका थिए । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङले खेलेका थिए ।

प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन् ।

नेपाल जिम्न्यास्टिक संघका महासचिव मुकुन्दराज शर्माले पदक नै नजिते पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताउँदै एकेडेमी स्थापनाले खेलाडीको स्तरबृद्धिमा सहयोग पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्