नेपाली महिला क्रिकेट टोलीलाई सिरिज



नेपाल समाचारपत्र, काठमाडौं ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी हुनुअघि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशमा सिरिज जितेको छ ।

बंगलादेशको यात्रामा रहेको नेपाली टोलीले बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानविरुद्धको तीन अभ्यास खेलको टी–२० सिरिज २–१ ले हात पारेको हो । १–१ बराबरी भएको अवस्थामा निर्णायक खेलमा नेपालले बंगलादेशको टोलीलाई ७ विकेटले हराएको थियो । जितका लागि विपक्षी टोलीले केवल ५४ रनको लक्ष्य तेस्र्याएको थियो । जवाफमा नेपालले १४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक १४ रन जोडिन् । यस्तै सरिता मगरले १३ रन, ओपनर काजल श्रेष्ठले १० रन तथा सीता रानामगर र इन्दु बर्माले ५–५ रनको योगदान दिएका थिए । बंगलादेशको टोलीको तर्फबाट रबिया खातुनले सर्वाधिक २ विकेट लिएकी थिइन् ।

यसअघि ढाकाको मैदानमा पहिले ब्याटिङ गरेको क्रिरा शिक्षा प्रतिष्ठानको पुरै टोली १६.५ ओभरमा ५३ रनमा अल आउट भयो । टोलीकी बोयनाले २ चौकाको सहयोगमा १७ रन जोडिन् । यो टोलीबाट एक मात्र दोहोरो अंकको रन थियो । नेपालकी रुविना क्षेत्रीले शानदार बलिङ गर्ने क्रममा ३ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । उनी ‘प्लेयर अफ द म्याच’ र ‘प्लेयर अफ द सिरिज’ चुनिएकी थिइन् । त्यस्तै, करुणा भण्डारीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवर र सीता मगरले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्