सिजनमा ११ खेल हुँदा ५ मेनेजर बर्खास्त



लन्डन, (एजेन्सी)  । 

इंग्लिस प्रिमियर लिगको यस सिजनमा ११ खेल सम्पन्न भएका छन् । केवल ११ खेल सम्पन्न हुँदा प्रिमियर लिगका विभिन्न क्लब गरी ५ मेनेजरको बर्खास्त भए । यति छोटो समयमा क्लबहरूले आफ्नो नराम्रो प्रदर्शनको भडास मेनेजरमाथि पोखेका छन् । यो चलन नै भइसकेको छ कि प्रदर्शन राम्रो भएमा वाहवाही हुन्छन् र प्रदर्शन खराब भएमा मेनेजरले जागिर गुमाउँछन् ।

एस्टन भिल्लाले मेनेजर डिएन स्मिथलाई बर्खास्त गरेपछि २०२०/२१ को पुरै सिजनमा भन्दा यो जारी सिजनमा धेरै मेनेजरले जागिरबाट हात धुनपुगेका छन् । यो प्रिमियर लिगको १७ वर्षमा सबैभन्दा बढी संख्यामा मेनेजर बर्खास्त भएको बीबीसी स्पोर्टस्ले जनाएको छ ।

यो जारी सिजनमा वाटफोर्ड, न्युक्यासल युनाइटेड, टोटनह्याम, नर्विच सिटी र एस्टन भिल्लाले उनीहरूका मेनेजरलाई बर्खास्त गरेका छन् । वाटफोर्डले ३ अक्टोबरमा सिस्को मुनोजलाई बर्खास्त गरेको थियो । उनी बर्खास्त हुँदा सिजनको ७ खेल मात्रै सम्पन्न भएका थिए । उनको स्थानमा क्लबले क्लाउडियो रेनीरीलाई मेनेजर पदमा नियुक्त गरेको छ ।

१३ दिनपछि २० अक्टोबरमा न्युक्यासलले उसको मेनेजर स्टिभ बु्रसलाई बर्खास्त गर्‍यो । उनको स्थानमा एडी होवेलाई ल्याइएको छ । १ नोभेम्बरमा टोटनह्यामले नुनो एस्पिरीटो सान्टोलाई बर्खास्त गर्‍यो । सान्टो क्लबमा आएको केवल ४ महिना मात्रै भएको थियो । यस सिजनको सुरुआती ७ खेलमध्ये उनको नेतृत्वमा टोटनह्यामले ५ खेलमा हार बेहोरेपछि उनको जागिर चट हुन पुगेको थियो । हाल टोटनह्यामलाई एन्टोनियो कोन्टेले सम्हालिरहेका छन् ।

यसै गरी गएको आइतबार ७ नोभेम्बरमा एस्टन भिल्लाले मेनेजर डिएन स्मिथको जागिर उडाइदियो । क्लबले लगातार ५ हार बेहोरेपछि यसको रिस सबै स्मिथले थाम्नु परेको थियो । उनलाई बर्खास्त गरेर क्लबले अरु मेनेजरलाई ल्याउन अहिले पहल गरिरहेको छ ।

प्रिमियर लिगको इतिहासमा २०१३–१४ र २०१७–१८ दुई सिजनमा सर्वाधिक मेनेजरले जागिर गुमाउनु परेको थियो । यी दुई सिजनमा समान १० मेनेजर बर्खास्त भएका थिए । यसको मतलब युरोपेली लिगमा मेनेजरको जागिर सुरक्षित छैन । अझै कति मेनेजरले जागिर गुमाउनु पर्ने हो ? बीबीसी स्पोर्टस्ले प्रश्न तेर्साएको छ । हाल म्यानचेस्टर युनाइटेडका मेनेजर ओले गनार सोल्जाएरको मेनेजर पद पनि धरापमा रहेको छ । पछिल्लोपटक डर्बी खेलमा म्यानचेस्टर सिटीसँग हारेपछि युनाइटेडका मेनेजर सोल्जाएरलाई राजीनामा दिन दबाब दिइरहेको छ ।

मेनेजर परिवर्तन गर्नु पनि जोखिम कार्य रहेको बीबीसी स्पोर्टसले जनायो । २०१९–२० सिजनदेखि अहिलेसम्म १६ जना मेनेजर परिवर्तन गरिएको छ । तर, यसले नतिजामा केही पनि सुधार नभएको जनाएको छ । बीबीसी स्पोर्टसका अनुसार वाटफोर्डले २०१९–२० सिजनमा २० औं स्थानमा हुँदा जाभि गार्सियालाई क्विके सान्चेज फलोअर्स रिप्लेस गर्‍यो तर सिजन समाप्त हुँदा १९ औं स्थानमा रह्यो । सोही सिजनमा फ्लोर्सलाई पनि रिप्लेस गरियो तर वाटफोर्डको स्थानमा सुधार भएन ।

टोटनह्यामका लागि भने फाइदा भएको छ । टोटनह्यामले २०१९–२० सिजनमा माउरिसियो पोचेटिनोको स्थानमा जोजे माउरिन्होलाई मेनेजरमा ल्याउँदा टोली १४ औं स्थानमा थियो । माउरिन्होको नेतृत्वमा टोटनह्यामले सुधार गरेको थियो । यसकै कारण टोली शीर्ष १० भित्र आउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्