राम धामी, डडेल्धुरा ।
तत्कालीन नेकपा एमाले र नेकपा (एकीकृत माओवादी) एकीकरण हुनुपूर्वको नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।
नेकपा एमाले डडेल्धुराको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा निर्वाचित डा. तारा जोशीसहित जिल्ला कमिटीका दुई तिहाइ बहुमत सदस्यहरुले निर्णय गरेर नेकपा (एकीकृत समाजवादीं) मा समाहित भएका हुन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मााधवकुमार नेपालले बुधबार डडेल्धुरा सदरमुकाम पुगेर समाहित भएका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा (एकीकृत माओवादी) बीच पार्टी एकता घोषणा गरिएको २०७२ जेठ ३ गतेसम्म नेकपा एमाले डडेल्धुरामा ५१ सदस्यीय जिल्ला कमिटी थियो । ५१ सदस्यीय जिल्ला कमिटीका सबै पदाधिकारीसहित ४० जनाले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको तत्कालीन जिल्ला कमिटी सचिव धनबहादुर साउदले बताउनुभयो । उहाँका अनुसार जिल्ला कमिटीमा रहेका दुई जनाको देहान्त भइसकेको तथा केही सदस्यहरु विदेशमा रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका नेताहरुका अनुसार डडेल्धुरामा रहेका १६ वटा जनवर्गीय संगठनमध्ये १३ जनवर्गीय संगठनले पनि निर्णय गरेरै एकीकृत समाजवादीमा समाहित भएका छन् । तत्कालीन अवस्थामा नेकपा एमाले डडेल्धुरामा रहेका कुल २ हजार ९ सय ८० संगठित सदस्यमध्ये २ हजार २ सय ३४ जना संगठित सदस्यले विद्रोह गरेर (एकीकृत समाजवादी) मा समाहित भएको नेकपा (एकीकृत समाजवादी) का डडेल्धुरा इन्चार्ज नरबहादुर विष्टले जानकारी दिनुभयो ।
यसअघि १० बुँदे सहमति कार्यान्वयन भएमा एमालेमै रहने निर्णय गरेका डा. जोशीलगायतका जिल्लास्तरीय नेताहरुले गाउँ र पालिकास्तरीय अधिवेशनमा कुनै जानकारी नदिएर एकपक्षीय ढंगले नेकपा एमालेको हालको जिल्ला कमिटीले पेलेर जान थालेपछि एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेका हुन् ।
हेलिकोप्टरमार्फत डडेल्धुरा आइपुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा (एस) ले केपी ओली गुटलाई अगामी निर्वाचनका बेला बढार्ने चेतावनी दिनुभयो । उहाँले नेकपा (एस) भएको ठाउँमा ओली गुट ‘नो’ हुने जिकिर गर्दै केपी ओलीको अधिनायवादी चरित्रका कारण एमालेबाट विद्रोह गरेर मुलुकमा नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको शुरुआत गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले डडेल्धुरा जिल्लामा विमानस्थल निर्माणका लागि सर्वेको काम भइसकेको र अब वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माण कार्य अघि बढ्ने जिकिर गर्नुभयो । उहाँले नेकपा एमाले छोडेर समाजवादी यात्रामा सहभागी हुन सबैलाई आग्रह गर्दै अगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै रहने र केपी ओली नेतृत्वको एमाले पत्तासाप हुने दाबी गर्नुभयो ।
एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचविरुद्ध एकीकृत समाजवादीमा समाहित भएको डा. तारा जोशीले बताउनुभयो । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टिम समाजवादीमा क्रियाशील भएर संगठन सुदृढ बनाउन लाग्ने जानकारी दिनुभयो । उहाँले २६ वर्षको उमेरमै ०५४ सालमा पहिलोपटक एमालेको जिल्ला नेतृत्व सम्हाल्नुभएको थियो । पछिल्ला सातौं र आठौ जिल्ला अधिवेशनमा डा. जोशी नै एमाले डडेल्धुराको अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा एमालेभित्रको अन्तरघातका कारण डा. जोशी ३ सय ५६ मतान्तरले नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लसँग पराजित हुनुभएको थियो । कार्यकर्तामाझ लोकप्रिय छवि बनाउनुभएका डा. जोशी आफ्नो समूहसहित एकीकृत समाजवादीमा समाहित भएसँगै डडेल्धुराका विभिन्न स्थानीय तहमा एमालेबाट निर्वाचित केही जनप्रतिनिधिले समेत एमाले छाडेका छन् । एमाले छोडेर एकीकृत समाजवादीमा समाहित भएका जनप्रतिनिधिको भने नाम सार्वजनिक गरिएको छैन ।











प्रतिक्रिया