संसारमा मानवता अझै बाँकी छ



न्युयोर्क, (एजेन्सी) ।

न्युयोर्क म्याराथन २०२१ को एक दृश्यले यो साबित गर्‍यो कि संसारमा मानवता अझै बाँकी रहेको छ । न्युयोर्क म्याराथन दौरान एक धावक फिनिसिङ लाइन पुग्न अघि भुइँमा लडे । उनी लडेपछि उनलाई अर्का दुई धावकले मद्दत गर्दै फिनिसिङ लाइन पार गराएका थिए । यो भिडियो सोसल मिडियामा छिटै भायरल पनि भयो । युजरहरूले उक्त भिडियो हेरेर मानवता जीवित रहेको टिप्पणी गर्दै भिडियोलाई खुब मन पराइरहेका छन् ।

म्याराथनमा एक धावक अन्तिम लाइनबाट करिब २ सय मिटर दूरीमा ठोक्किएर भुइँमा लड्न पुगेका थिए । उक्त धावक पुरै थकित पनि थिए र उठ्न पनि सकेका थिएनन् । लडेका धावकलाई उठाउन अरू दुई धावक अगाडि आए । उनीहरूले उनलाई उठाए र फिनिसिङ लाइन पूरा गर्न सहयोग गरे । यो घटनालाई म्याराथन हेर्न आएका मान्छेहरूले दुवै धावकलाई ताली बजाएर धन्यवाद दिएका थिए ।

न्युयोर्क म्याराथन गत वर्ष आयोजिन हुन सकेको थिएन । कोरोना महामारीको कारण यसलाई एक वर्षको लागि स्थगित गरिएको थियो । संसारको सबैभन्दा ठूलो र पुरानो यो दौडमा कुल ३३ हजार प्रतिस्पर्धीले भाग लिएका थिए । यो म्याराथनप्रति न्युयोर्कबासीले ठूलो उत्साह देखाएको पनि मिडियाले जनायो ।

प्रतिक्रिया दिनुहोस्