भारत र पाकिस्तानबीचको खेल १६ करोडले हेरे



नयाँ दिल्ली, (एजेन्सी) ।

जारी टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल१६ करोड ७० लाख दर्शकले हेरेको प्रतियोगिताको आधिकारिक प्रसारणकर्ताले दाबी गरेका छन् । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेरेको खेल बनेको छ । भारत र पाकिस्तानले करिब २ वर्षपछि प्रतियोगितामा एक अर्काेसँग सामना गरेका थिए ।

स्टार इन्डियाले दावा गरेको छ कि पछिल्लो सातासम्म क्वालिफायर र सुपर १२ को सुरुआती १२ खेलमा कुल २३ करोड ८० लाख दर्शकसंख्या पुगेको थियो । यसअघि २०१६ आईसीसी विश्व टी–२० सेमिफाइनल भारत र वेस्टइन्डिजबीच भएको थियो । उक्त सेमिफाइनलमा पनि दर्शकको रेकर्ड रचित भएको थियो । तर, यसपालि भने भारत र पाकिस्तानको खेलका दर्शकसंख्याले उक्त रेकर्डलाई पछि पारेको छ ।

जारी टी–२० विश्वकपको समूह २ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । पाकिस्तानका तर्फबाट बाबर आजम र मोहम्मद रिजवानले शतकीय साझेदारी गरेका थिए । यो पाकिस्तानको भारतविरुद्ध विश्वकपमा पहिलो जित समेत थियो । यसअघि विश्वकपमा १२ खेलमा भारतसँग पाकिस्तान पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्