फाइनल पुग्न न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै



अबुधाबी, (एजेन्सी) । 

उपाधिको प्रबल दावेदार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आज सेमिफाइनल खेल हुँदैछ । इंग्ल्यान्डलाई टी–२० विश्वकप शुरू हुनअघि नै उपाधि जित्ने टिमको रूपमा लिएको छ । सधंै राम्रो प्रदर्शन गर्ने टिमको रूपमा चर्चित न्युजिल्यान्डमाथि इंग्ल्यान्ड हावी हुन कोसिस गर्नेछ । इंग्ल्यान्डले समूहमा लगातार चार खेल जितेर उपाधि दाबेदारलाई अझ बलियो बनायो । तर, समूहको अन्तिम खेलमा भने दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हरायो । यो नतिजाले इंग्ल्यान्डलाई हराउन सक्ने स्पष्ट भएको छ ।

इंग्ल्यान्डका ओपनर ब्याटसम्यान जेसन रोय चोटको कारण विश्वकपबाटै बाहिरिएपछि टिमलाई समस्या परेको छ । रोय र जोस बटलर प्रतियोगिताकै विस्फोटक ओपनर जोडीको रूपमा रहे । तर, रोयको बिछोडले इंग्ल्यान्डको लागि ओपनिङमा समस्या पर्ने सम्भावना छ । यद्यपि, इंग्ल्यान्ड टिमले जोनी बेयरस्टोलाई बटलरसँग ओपनिङ गराउन सक्नेछ ।

इंग्लिस टिमले अलराउन्डर मोइन अलीलाई पनि ओपनिङमा प्रयोग गर्न सक्नेछ । अलीसँग पनि खेलको नतिजा उल्ट्याउन सक्ने क्षमता छ । सेम बिलिंग्सलाई मध्यक्रमको रूपमा टिममा राख्न सक्नेछ । यस्तै बलरमा टायमल मिल्स पनि चोटको कारण प्रतियोगिताबाट बाहिरिएका छन् । मिल्सले प्रतियोगितामा राम्रो गरिरहेको हुँदा उनको बहिर्गमनले टिमलाई नोक्सान हुन सक्छ । मिल्सको बलिङमा विविधता देख्न सकिन्छ भने अरूमा त्यो गुण छैन ।

न्युजिल्यान्ड टिम भने २०१९ को वानडे विश्वकप फाइनलको बदला लिने सुरमा हुनेछ । उक्त फाइनलमा इंग्ल्यान्डले धेरै बाउन्ड्री प्रहार गरेको आधारमा विश्वकप उपाधि जितेको थियो । न्युजिल्यान्डको लागि यो नतिजा मुटु दुखाउने खालको थियो । मनमा पीडा भए पनि खेलाडीहरूले उक्त विश्वकपपछि राम्रो प्रदर्शन गर्दै आएका छन् । यही कारण न्युजिल्यान्डले विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । न्युजिल्यान्डसँग घातक बलरहरू छन् । उनीहरूले भारतजस्तो आक्रमक खेल्ने टिमलाई समेत जारी विश्वकपमा १ सय १० मा रोकेका थिए । यस्तै अफगानिस्तानलाई पनि १ सय २५ रनमै सीमित हुन बाध्य भएको थियो । यसले नै दर्शाउँछ कि न्युजिल्यान्डका बलर कति खतरनाक छन् ।

ट्रेन्ट बोल्ट र टिम साउदी न्युजिल्यान्डका खतरनाक बलर हुन् । उनीहरूको बलिङको सामना गर्न त्यति सजिलो हुने छैन । लकी फर्गुसन चोटको कारण बाहिर छन्, तर, उनको स्थानमा आएका एडम मिल्नेले उनको कमी महसुस गर्न दिएनन् । स्पिनर इस सोढी र मिसेल सेन्टनरले पनि आवश्यक परेको बेला विकेट निकालिरहेका छन् ।

न्युजिल्यान्डका ब्याटिङले अहिलेसम्म राम्रो प्रभाव छाडिरहेका छन् । ओपनर ब्याटसम्यान मार्टिन गप्टिलले सर्वाधिक रन बनाएका छन् । साथै उनका जोडीदार ब्याटसम्यान डेरिल मिसेल लयमा छन् । कप्तान केन विलियमसन पनि टिमका भरोसामन्द ब्याटसम्यान हुन् । अबुधाबीको पीच ब्याटिङको लागि अनुकूल रहेकोले यो खेलमा पहिले ब्याटिङ गर्ने टिमले ठूलो स्कोर बनाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्