भारतको बहिर्गमनले विज्ञापन एजेन्सीहरूलाई ठूलो नोक्सान



नयाँ दिल्ली, (एजेन्सी) ।

विज्ञापन एजेन्सीहरूलाई जुन कुराको डर थियो, त्यही भएको छ । यूएईमा जारी टी–२० विश्वकपमा भारत समूह चरणबाट बाहिरिएपछि विज्ञापन एजेन्सीहरूले ठूलो नोक्सान बेहोर्नु पर्ने भएको हो । यो नतिजाले खेलको विज्ञापन स्लाट्स किनबेच गर्ने एजेन्सीहरूको होश उडेको छ । भारतीय मिडियाले जनाएअनुसार बाँकी रहेका ५ खेलको टीभी र डिजिटल भ्युअरसिपमा ५० प्रतिशत गिरावट आउन सक्नेछ । यसले खेल दौडान टिभीमा देखाउने विज्ञापनको कारोबार गर्नेलाई करिब १ हजार करोड रुपियाँ (भारु) नोक्सान हुने सक्ने अनुमान लगाएको छ ।

भारतीय टोली सुपर १२ अन्तर्गत समूह २ मा रहँदा सेमिफाइनल पुग्ने अनुमान प्रतियोगिता अघि सबैले गरेका थिए । यस समूहमा भारत, पाकिस्तान, न्युजिल्यान्ड बलिया टोली हुन् । अरु टोलीमा नामिबिया, स्कटल्यान्ड र अफगानिस्तान हुन् । तर, भारतले पहिलै दुई खेल पाकिस्तान र न्युजिल्यान्डविरुद्ध गुमाएपछि अन्तिम चारमा पुग्न मुस्किल समीकरण बनेको थियो । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई हराएपछि भारत समूह चरणबाटै बाहिरिन बाध्य भयो ।

आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) भने कुनै पनि नोक्सान बेहोर्नु पर्ने छैन । आईसीसीले २०१५ देखि २०२३ सम्मका लागि सबै प्रतियोगताको प्रसारण र डिजिटल अधिकार स्टार इन्डियालाई बेचेको छ । आईसीसीले करिब १४.८ हजार करोड (भारु) मा बेचेको जनाएको थियो । यसमा विश्वकप २०१५, २०१९ र २०२३, टी–२० विश्वकप (२०१६, २०२१, २०२२), च्याम्पियन्स ट्रफी र आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल सामेल छन् ।

स्टार इन्डिया च्यानेलले यस टी–२० विश्वकपको विज्ञापन स्लाट्स करिब डेढ दर्जन बाइङ एजेन्सीलाई पहिल्यै बेचिसकेका छन् । त्यसैले अहिले प्रत्यक्ष प्रशारण गरिरहेको स्टार इन्डिया च्यानेलले पनि कुनै पनि नोक्सान बेहोर्नु पर्ने छैन । भारत बाहिरिए पनि स्टार इन्डियालाई कुनै फरक पर्ने छैन । तर, बाइङ एजेन्सीहरू भने मारमा परेका छन् । स्टार इन्डियाका एक अधिकारीले बताए कि २००७ वानडे विश्वकपदेखि भारतीय टिम समूह चरणबाट पनि बाहिरिन सक्ने अनुभव भइसकेको छ । यसैले उनीहरूले विज्ञापन स्लाट्स बचाएर राख्दैन ।

बाइङ एजेन्सीहरूले भने करिब १० देखि १५ प्रतिशतसम्म नाफा कमाउने उद्देश्यका साथ विज्ञापन स्लाट्स बचाएर राख्ने गर्छन् । उनीहरू यस सोचका साथ विज्ञापन स्लाट्स बचाउँछन् कि भारतीय टिम फाइनलसम्म पुगेपछि त्यसलाई महँगो दाममा बेचेर ठूलो नाफा कमाउन पाउनेछन् । यसपटक अवस्था उल्टिएपछि उनीहरू नोक्सानमा रहने पक्का भएका हुन् । अहिले बेच्दा पनि नोक्सान सहेर बेच्नु पर्ने उनीहरूको बाध्यता भएको छ ।

भारतीय मिडियाले जनाएअनुसार बाइङ एजेन्सीयाहरूको नोक्सान ७ सयदेखि १ हजार करोड रुपियाँ (भारु) सम्म हुनेछ । बाइङ एजेन्सीयाहरू यस्ता कम्पनी हुन्, जसले प्रशारकबाट विज्ञापन स्लाट्स किनेर खेल दौरान आफ्नो उत्पादनको विज्ञापन चलाउने कम्पनीलाई बेच्छन् । भारतीय मिडियाले जनाएअनुसार अहिले आईसीसीलाई कुनै नोक्सान नहुने भए पनि आगामी २०२४ देखिका प्रतियोगिताका लागि ठूलो रकमको कारोबार हुन सक्ने छैन ।

आईसीसीलाई आईपीएलको चुनौती

आईसीसीको प्रशारक अधिकार बेच्नमा यसपटक आईपीएल (इन्डियन प्रिमियर लिग) बाट कडा चुनौतीको सामना गर्नु परिरहेको छ । आईसीसी २०२४ देखि २०२७ सम्मका लागि आफ्ना इभेन्ट्सको अधिकार बेच्ने कोसिसमा छ । अर्को भारतीय क्रिकेट कन्ट्रोल बोर्ड पनि २०२३ देखि २०२७ सम्मका लागि आईपीएलको अधिकार बेचिरहेको छ । आईपीएलसँग फाइदा यो छ कि यो लिगमा कोही पनि टोली जितोस या हारोस भ्युअरसिपमा कमी आउँदैन । आईपीएलका सबै टोलीका समर्थक पूरै देशमा छन् ।

यसको उल्टो आईसीसी इभेन्टस्मा कोही पनि टोली बाहिरिएमा त्यो देशका समर्थकले प्रतियोगिताका बाँकी खेल हेर्न छाड्छन् । जस्तै यसपटक उपाधि दावेदारीमा रहेको भारतीय टोली सेमिफाइनल पुग्न सकेन । यसले भारतीय समर्थकले बाँकी खेलमा चासो राख्ने छैनन् । भारतीय मिडियाले जनाएअनुसार यस विश्वपकपमा सहभागि देशका समर्थक झण्डै २ सय करोड संख्यामा रहेका छन् । यसमध्ये ६७ प्रतिशत दर्शक भारतका रहेका छन् । अहिले भारतको चुनौती समाप्त भएपछि १ सय ३५ करोड दर्शकसंख्या घट्ने भएका छन् ।
यो बक्समा राख्ने सानो फोटोसहित

रोय विश्वकपबाट बाहिरिए

इंग्ल्यान्डका ओपनर ब्याटसम्यान जेसन रोयले जारी टी–२० विश्वकपका बाँकी खेल गुमाउने भएका छन् । शनिबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा खुट्टामा ठूलो चोट लागेपछि उनी खेल्न अक्षम भएका हुन् । उनको स्थानमा जेम्स भिन्चले खेल्नेछन् । इंग्ल्यान्डले बुधबार सेमिफाइनल खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । रोयले जारी प्रतियोगितामा समूह चरणअन्तर्गत ५ खेलमा कूल १ सय २३ रन बनाएका थिए । उनको व्यक्तिगत उच्चतम योगदान बंगलादेशविरुद्ध जोडेको ६१ रन थियो ।

प्रतिक्रिया दिनुहोस्