जुवा खेल्ने खेलाउने १५ जना दुई लाख ६८ हजार नगदसहित पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर । 

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान (जुवा)कौडा खेल्ने खेलाउने १५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई लाख ६८ हजार ३९० रुपैयाँसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मंगोलियन वेभ रेस्ट्रो एन्ड बारभित्र पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले बारका सञ्चालक चाँगुनारायण नगरपालिका ६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङसँगै सोही टोलका वर्ष ४२ का धनबहादुर तामाङ, वर्ष २४ का बिरबल तामाङ, वर्ष २६ का शुक्रे तामाङ, वर्ष २१ का राजकुमार तामाङ, वर्ष २९ का सञ्जय तामाङ, वर्ष ३० सोनाम लामा र वर्ष ३५ का मनकुमार तामाङ लगायतलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा फेला पारी १५ जनालाई नै नियन्त्रणमा लिएको छ भने जुवा खालबाट २०९ थान कौडा समेत बरामद गरेको छ । बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्