सहारा एकेडेमी अब स्व.सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमी



पोखरा, (नेस) ।

पोखराको फुटबल विकासमा क्रियाशील रहेको सहारा क्लब पोखराले सञ्चालन गर्दै आइरहेको सहारा एकेडेमीको नाम फेरिने भएको छ ।

२०५५ सालमा स्थापित सहारा क्लब पोखराले २०५८ सालमा शुरू गरेको फुटबल एकेडेमीको नाम परिवर्तन गर्ने भएको हो । क्लबले आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगितामा हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा ! तथा रारा चाउचाउको मुख्य प्रायोजक रहेको थियो ।

सोही प्रा.लिका सञ्चालक समेत रहेका स्व. सूर्यबहादुर केसीको पुण्यतिथिको अवसर पारेर अब प्रतियोगितालाई मात्रै नभई एकेडेमीलाई समेत वार्षिक रूपमा सहयोग गर्ने गरी सम्झौता भएको छ । स्व. केसीको स्मृतिमा परिवारले आगामी १० वर्षका लागि वर्षेनी १५ लाख रुपैयाँका दरले दिनेगरी सम्झौता भएको हो ।

बुधबार केसी परिवार र क्लब पदाधिकारीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सोही सम्झौताअनुरूप अब एकेडेमीको नाम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राख्ने भएको क्लबका अध्यक्ष सुरज गुरुङ (हरिराम) ले जानकारी दिए ।

उनले केसी क्लबको स्थपनाकालदेखि नै जोडिँदै आएकाले पनि क्लबको अभिभावकको रूपमा सधैं रहिरहेको बताए । उनले सम्झौताले आफूहरूलाई थप जिम्मेवारीसमेत थपिएको बताए ।

यस्तै, केसीका छोरा किरण केसीले बुबा आफूहरूको साथमा नभए पनि अब लामो समयसम्म पुनः जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनले बुबामा एक मानिसमा हुनुपर्ने सम्पूर्ण गुण भएको बताउँदै धेरै संघ–संस्थामा आबद्ध भएर व्यवसायका साथसाथै समाजसेवामा समेत उत्तिकै लागिपरेको बताए ।

उनले आफ्नो बुबाको विचार र सोचलाई एकेडेमीका बालकहरूमा समेत प्रदान गर्दै उज्ज्वल भविष्य बनाउन प्रेरित गराउने बताए । क्लबमा हाल १४ जिल्लाका २४ जना बालकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्