बार्सिलोनाको लगातार दोस्रो जित



लन्डन, (एजन्सी) ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा सुरुआती दुई खेलमा हार भोगेको स्पेनिस क्लब बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ ।

मंगलबार भएको समूह चरणको चौथो खेलमा बार्सिलोनाले युक्रेनको क्लब डाइनामो किभलाई उसैको घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो ।

यो जितपछि बार्सिलोनाले अर्को चरणमा प्रवेशको सम्भावनालाई पनि बलियो बनाएको छ ।मंगलबारै भएको सोही समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेनफिका जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएपछि बार्सिलोनामाथिको दबाब एकाएक घटेको हो ।

यदि, सो खेल बेनफिकाले जितेको भए वा बराबरी मात्रै गरेको भए बार्सिलोनालाई समस्या हुने थियो । तर, आफ्नो खेल जित्नु र बेनफिका बार्यनसँग हार्नु बार्सिलोनाका लागि राम्रो नतिजा बन्यो ।

बार्सिलोनालाई किभको घरेलु मैदानमा कठिन जित दिलाउन युवा स्टार अन्सु फातीले एक मात्रै निर्णायक गोल खेलको सातौं मिनेटमा गरे ।

डिफेन्डर ओस्कार मिंगुएजाको सुन्दर क्रस पासमा बक्सअघि अनमार्क रहेका फातीले वान टचको हाफ भलीमा शानदार गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनको प्रहार रोक्न किभका गोलकिपरले कुनै मौका नै पाएनन् । अन्ततः बार्सिलोनाले सोही अग्रता बचाएर खेल १–० ले जित्न सफल भयो ।

बार्सिलोनाले यसअघि समूह चरणको पहिलो खेलमा आफ्नो घरेलू मैदानमा बार्यनसँग ३–० ले हारेको थियो भने त्यसपछि बेनफिकाको घरमा पनि ३–० ले नै हारेको थियो । तर, लगातारका यी दुई खराब हारपछि बार्सिलोनाले किभविरुद्ध दुवै खेलमा १–० को साँघुरो जित निकालेर राहत महसुस गरेको छ ।

यो जितपछि बार्सिलोना ६ अंक जोडेर समूह ‘ई’ को दोस्रो स्थानमा चढेको छ । बार्सिलोनाले चार खेलमध्ये दुई खेल हारेर दुई खेल नै जितेको छ । बार्सिलोनासँग पराजित बेनफिका ४ अंकका साथ तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्टार फरवार्ड रोवर्ट लेवान्डास्कीले पेनाल्टीमा गोल गर्न चुके पनि ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बार्यन म्युनिखले अर्को सानदार जित निकाल्यो ।

मंगलबार राति नै भएको समूह चरणको चौथो खेलमा बार्यनले आफ्नो घरेलु मैदानमा पाहुना टोली पोर्चुगिज क्लब बेनफिकालाई ५–२ गोल अन्तरमा स्तब्ध बनायो ।

यसअघि, पहिलो लेगको खेलमा पनि बार्यनले बेनफिकालाई उसैको घरेलु मैदानमा १४ मिनेटभित्र चार गोल गरेको थियो । बाँकी दुई गोल सर्गी गेनाब्री र लिरो सानेले गरे ।पहिलो गोल खेलको २६औं मिनेटमा लेवान्डोस्कीले गरेका थिए । उनको सो गोलमा किङ्स्ले कोमानले असिस्ट गरेका थिए ।

लेवान्डोस्कीले पहिलो गोल हेडिङमार्फत् गरेका थिए । त्यसपछि, दोस्रो गोल सर्जी गेनाब्रीले ३२औं मिनेटमा गरे । उनले लेवान्डोस्कीको पासमा ब्याक हिल टचमा सुन्दर गोल गरेका थिए ।

त्यसपछि बेनफिकाले खेलको ३८औं मिनटमा एक गोल फर्कायो । सो खेल मोराटोले गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा बार्यनले पेनाल्टी पायो । भीएआरले जाँच गरेर पेनाल्टी दिने निर्णय गरेको थियो ।

तर, उक्त पेनाल्टी लेवान्डोस्कीले चुकाएपछि पहिलो हाफमै दोस्रो गोल गर्न पाएनन् । त्यसपछि ४९औं मिनेटमा बार्यनका लागि अल्फोन्सो डेभिसको पासमा लिरोए सानेले भलीमा गोल गरेपछि बार्यन खेलमा ३–१ ले अघिभयो ।

त्यसपछि, खेलको ६१औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक उनको गोलमा सानेले असिस्ट गरेका थिए । त्यसपछि खेलको ७४औं मिनेटमा बेनफिकाका लागि डर्विन नुनेजले गोल गरेर खेल ४–२ बनाए ।

त्यसपछि, खेलको ८४औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गोल गरे । गोलकिपर म्यानुएल निउरले दिएको लामो दूरीको पासमा लेवान्डोस्कीले बल नियन्त्रणमा लिएर गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गरेपछि उनको ह्याट्रिक पूरा भयो । टिमले पनि खेल ५–२ ले जित्यो ।

यो खेलमा बार्यनले बेनफिकालाई हराउँदा बार्यन भने अन्तिम दुई खेलअघि नै अर्को चरणमा प्रवेश गरेको छ । यसको सोझो फाइदा भने स्पेनिस क्लब बार्सिलोनालाई पुगेको छ । बार्यनसँग हारेको बनेफिकालाई अब बार्सिलोनाले हराउन सके बार्सिलोना पनि अन्तिम खेलअघि नै अर्को चरणमा पुग्नेछ ।

यो जितपछि बार्यन चार खेलमा सबै खेल जितेर १२ अंकका साथ समूह ‘ई’ को शीर्ष स्थानमा छ । मंगलबार राति किभलाई १–० ले हराएको बार्सिलोना ६ अंकका साथ दोस्रो स्थानमा चढेको छ । बार्यनसँग पराजित बेनफिका ४ अंकका साथ तेस्रो स्थानमा छ । एक अंक भएको किभ भने चौथो स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हारको मुखैमा पुगेर पनि बच्न सफल भयो । उमेरले ३७ वर्ष नजिक रहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई शानदार गोल गरेपछि युनाइटेडले इटालियन सिरी ‘ए’ क्लब एट्लान्टासँग २–२ गोलको बराबरीमा खेल टुंग्याएको हो । समूह चरणको चौथो खेलमा युनाइटेड इटालियन क्लब एट्लान्टाको घरेलु मैदानमा पाहुना टोली बनेर जाँदा दुईपटक पछि परेको थियो ।

तर, घरेलु टोलीका लागि रोनाल्डोले उद्धार गर्न सफल भए ।एट्लान्टा आफ्नो घरमा जितबाट ५ मिनेट मात्रै टाढा रहेका बेला अन्तिम समय सम्हालिन नसक्दा बराबरीको नतिजा आत्मसात गर्न बाध्य बन्यो ।

आफ्नो घरेलु मैदानमा एट्लान्टाले खेलको १२औं मिनेटमा गोल गरेर अग्रता लिएको थियो । सो गोल जोसिप इलिसिचले गरेका थिए ।

क्रस पासमा उनले हानेको पावरफुल लो सट युनाइटेडका गोलकिपर डेभिड डि गेयाको हात छिचोल्दै जाली चुमेपछि युनाइटेडलाई धक्का लागेको थियो ।

त्यसपछि युनाइटेडले बराबरी गोलका लागि ठूलो संघर्ष गरिरहँदा पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले शक्तिशाली प्रहारमा गोल गरे । ब्रुनो फर्नान्डेजको सुन्दर ब्याक हिल पासमा रोनाल्डोले एट्लान्टाका तीन जना डिफेन्डरका बीचबाट कडा प्रहारमा सोझै गोल गरे ।

सो गोलको शुरुआती मुभ पनि रोनाल्डोले आफैंले सिर्जना गरेका थिए । उनले फर्नान्डेजसँग उत्कृष्ट तालमेल मिलाएर डी–बक्सभित्र ब्याक हिल पासको बल रिसिभ गरेर गोल गरेपछि पहिलो हाफ १–१ मा सकियो । त्यसपछि, दोस्रो हाफमा पनि युनाइटेड फेरि खेलमा पछि गर्न गयो ।

खेलको ५६औं मिनेटमा युवा खेलाडी डुभान जपाटाले युनाइटेडका गोलकिपर र डिफेन्डरलाई निराश बनाउँदै गोल गरेपछि खेलमा एट्लान्टाले पुनः २–१ को अग्रता बनायो । सो गोलले युनाइटेडलाई ठूलो झट्का दिएको थियो ।

दोस्रो गोल बेहोरेपछि युनाइटेड हारनजिक पुगेको थियो । तर, ९० मिनेटपछि थपिएको इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले अर्को सानदार गोल गरेर खेल २–२ को बराबरी बनाए ।

मासोन ग्रिनउडको पासमा डी–बक्स बाहिरबाट रोनाल्डोले हानेको लो सटले सोझै जाली चुम्यो । एट्लान्टका डिफेन्डरको भिडबाट उनले हानेको कडा सट गोलकिपरले रोक्न प्रयास गरे पनि सकेनन् । सो गोलपछि खेल २–२ को बराबरीमा सकियो ।

यसअघि, युनाइटेडको घरेलु मैदानमा पहिलो लेगको खेल हुँदा पनि एट्लान्टाविरुद्ध कमब्याक जित दिलाउन रोनाल्डोले नै अन्तिम मिनेटमा सानदार विजयी गोल गरेका थिए ।

यस खेलमा गरेको दुई गोल गरेसँगै रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा गरेको कुल गोल संख्या ५ पुगेको छ । उनले चार खेलबाट ५ गोल र एक गोलमा असिस्ट पनि गरेका छन् ।

त्यस्तै, अर्को खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला चम्किँदा युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले सानदार जित निकाल्यो ।

मंगलबार राति भएको समूह चरणको चौथो खेलमा युभेन्ट्सले रसियन क्लब जेनिटमाथि ४–२ को जित निकालेको हो । आफ्नो घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन डिबाला नायक बने । उनले दुई गोल गरेर एक गोलमा असिस्ट समेत गरे ।

यो जितपछि युभेन्ट्स भने अन्तिम दुई खेलअघि नै अन्तिम १६ मा पनि प्रवेश गरेको छ । उक्त दुई गोल बेहोरेपछि युभेन्ट्सले यस सिजन पहिलोपटक च्याम्पियन्स लिगमा गोल बेहोरेको छ ।

यसअघिका तीन वटा सबै खेलमा युभेन्ट्सले क्लिन सिट राखेको थियो । युभेन्ट्स समूह चरणमा शुरुआतका चारवटै खेल जितेर दुई खेल बाँकी हुँदा नै अर्को चरणमा प्रवेश गर्न सफल भएको हो ।

एलिनाज रंगशालामा युभेन्ट्सका लागि पहिलो गोल खेलको ११औं मिनेटमा डिबालाले गरेका थिए । त्यसपछि, २६औं मिनेटमा युभेन्ट्सका डिफेन्डर लियान्द्रो बोनुचीले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बराबरी भयो ।

त्यसपछि खेलको ५८औं मिनेटमा युभेन्ट्सले पेनाल्टी पायो, जसमा डिबाला आफैंले प्रहार गर्दै खेल २–१ बनाए । त्यसपछि, खेलको ७३औं मिनेटमा फेड्रिको फर्नान्डेचीको पासमा फेड्रिको किइजाले सानदार गोल गरेपछि युभेन्ट्स जिततर्फ अघि बढेको थियो ।

त्यस्तै, खेलको ८२औं मिनेटमा स्पेनिस फरवार्ड पाउलोले अर्को गोल थपे । तर, खेलको ९२औं मिनेटमा जेनिटका लागि अज्मोनले गोल गरेपछि युभेन्ट्सको जित ४–२ मा खुम्चियो । अब समूह ‘एच’ मा युभेन्ट्सको शतप्रतिशत १२ अंकका भएको छ । त्यस्तै, इंग्लिस क्लब चेल्सीको ९ तथा जेनिटको ३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्