पोखरा म्याराथनको पुरस्कारमा वृद्धि



विजय नेपाली, पोखरा ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा म्याराथनको (४२.१९५ किमी) पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको छ ।

आगामी फागुन ७ गते पोखरामा आयोजना हुने दौडको मेलाको रूपमा रहेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने भएको छ ।

१५औँ संस्करणसम्म २ लाख रुपैयाँ रहेको म्यारथनमा यो वर्ष भने ४ लाख दिन लागिएको हो । उक्त पुरस्कार नेपाली म्याराथनकै इतिहासमा सर्वाधिक राशीको पुरस्कार हो ।

बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत मञ्चले उक्त कुराको जानकारी दिएको हो । म्याराथनको उपविजेताले अघिल्लो वर्षको विजेताले पाएको बराबर रकम पाउने भएको छ ।

म्याराथनको उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थानमा आउनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै दोस्रो पटक हुन लागेको हाफ म्याराथन महिलाको भने भने पुरस्कार राशी उही रहेको छ । महिला हाफ म्याराथन प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, महिला र पुरुष १० किलोमिटर दौडको प्रथम हुनेले समान २०/२० हजार रुपैयाँ, दोस्रोले १५/१५ हजार रुपैयाँ तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

उता ५ किमि छात्र र छात्रा दौडको प्रथम द्वितीय र तृतीयले क्रमशः १२ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ह्विलचियर पुरुष र महिला तथा दृष्टिविहीन महिला तथा पुरुष विधातर्फको प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन् ।

यस्तै, मञ्चले सुजल डेरीसँगको सम्झौतासमेत थप गरेको छ । मञ्चले बुधबार नै सुजल डेरीसँग आगामी तीन वर्षका लागि प्रमुख प्रायोजकको रूपमा सम्झौता गरेको हो । मञ्चका अध्यक्ष हरीप्रसाद पराजुली र सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले सम्झौता पत्रमा आगामी ३ वर्षका लागि आर्थिक सहयोग गर्नेगरी हस्ताक्षर गरेको हो ।

यसअघि, सुजल फुड्सले ३ लाख रुपैयाँ, साढे ४ लाख रुपैयाँ गर्दै अहिले ७ लाख रुपैयाँ प्रतियोगिताका लागि हस्तान्तरण गर्ने भएको हो ।त्योबाहेक अन्य प्रचार–प्रसार तथा ब्यानर प्रायोजनसमेत सुजल डेरीले नै गर्ने छ ।

७ लाखबाहेक अन्य खर्चसमेत गरेर करिब ३० लाख सहयोग हुने अध्यक्ष पराजुलीले बताए । उनले पोखरा म्याराथनका लागि सडक सुरक्षा चुनौतीका रूपमा रहे पनि समग्र पोखराबासीको सहयोगले चुनौतीको सामना गर्न सहज हुँदै आएको बताए ।

उता सुजल डेरीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले २०७२ सालको सम्झौता सकिएलगत्तै पुनः सम्झौता भएको जानकारी दिए । उनले ३ वर्षसम्म सुजल डेरीको उत्पादन सफल दूधको साथ रहने बताए ।

प्रतिक्रिया दिनुहोस्