आयोजक शुसितम च्याम्पियन



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिका ६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले हात पारेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराएर उपाधि जितेको हो । विजेता टोली शुसितमले ७७ हजार ७ सय ७७ रुपियाँ तथा उपविजेता कैलपालले ३३ हजार ३ सय ३३ रुपियाँ पुरस्कार हासिल गरे । शुसितमले दिएको १ सय २५ रनको लक्ष्यको जवाफमा कैलपाल १७.५ ओभरमा १ सय रनमै समेटियो । कैलपालका लागि हरि ओझाले नटआउट हुँदै सर्वाधिक ३७ रनको योगदान दिए ।

कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले ४ तथा जनक कार्कीले ३ विकेट हात पारे । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल भएका थिए । त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २४ रन बनाएको थियो । जसमा जनकसिंह कार्कीले सर्वाधिक ४४ रनको योगदान दिएका थिए । कैलपालका गोविन्द चन्दले ३ विकेट हात पारे ।

प्रतियोगिताअन्तर्गत शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज भए । उनले ५ हजार ५ सय ५५ रुपैंया पुरस्कार पाए । यस्तै शुसितमका सन्तोस कार्की बेस्ट ब्याट्सम्यान तथा किरन कार्की बेस्ट बलर भए । सन्तोस र किरन दुवैले समान ३ हजार ३ सय ३३ रुपियाँ पुरस्कार पाए ।

प्रतिक्रिया दिनुहोस्