नेपोली र इन्टर विजयी



रोम, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ मा नेपोली र इन्टर मिलान विजयी भएका छन् ।

नेपोलीले घरेलु टोली सालेरनिटानामाथि १–० को झिनो गोलअन्तरको जित निकालेको हो । नेपोलीको जितमा पिओटर जिलेन्स्कीले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । खेलको ७०औं मिनेटमा घरेलु टोलीका ग्रिगोरिस कास्टानोस सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ७७औं मिनेटमा नेपोलीका कालिडोउ कोउलीवेली पनि सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । जितपछि नेपोलीको ११ खेलबाट ३१ अंक भएको छ । पराजित सालेरनिटानाको भने ७ अंक मात्र रहेको छ ।

त्यस्तै, अर्काे खेलमा जोआक्विन कोरेआको दुई गोलमा इन्टर मिलानले उडिनेसलाई २–० ले पराजित गर्‍यो । कोरेआले दोस्रो हाफमा आठ मिनेटको अन्तरमा दुई गोल गरेका थिए । जितपछि इन्टरले ११ खेलबाट २४ अंक जोडेको छ । पराजित उडिनेसको भने ११ अंक रहेको छ ।

त्यसैगरी, एसी मिलानले पनि रोमालाई पराजित गर्दै तीन अंक बटुल्न सफल भयो । १० खेलाडीमा समेटिएको मिलानले घरेलु टोली रोमामाथि २–१ गोलअन्तरको जित हात पारेको हो । रोमामा आइतबार राति भएको खेलमा मिलानलाई जिताउन ज्लाटन इब्राहिमोभिच र फ्रान्क केस्सीले गोल गरेका थिए । घरेलु टोलीका स्टेफन अल सरावेले एक गोल फर्काए ।

खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको गोलबाट मिलानले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५०औं मिनेटमा ज्लाटनले गोल गरे पनि भीएआरबाट उनको गोलले मान्यता पाएन । ५७औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

मिलान ६६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । हर्नान्डेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसबेलासम्म मिलानले २–० को अग्रता लिइसकेको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा स्टेफन अल सरावेले गोल गरे पनि घरेलु टोलीको हार भने टार्न सकेन । जितपछि लिगको दोस्रो स्थानमा रहेको मिलानको ११ खेलबाट ३१ अंक पुगेको छ । समान ३१ अंक नै रहेको नेपोली भने लिग तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित रोमाको भने १९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्