भारतको सेमिफाइनल पुग्ने सम्भावना कमजोर



नयाँदिल्ली, (एजेन्सी) ।

भारतको जारी आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना निकै कमजोर भएको छ ।

लगातार दुई हारपछि भारतको लागि अन्तिम चारमा पुग्न अरू खेलको नतिजामा निर्भर रहेको छ । भारतले पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग १० विकेटले हारको सामना गर्‍यो । आइतबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डविरुद्धको खेल पनि भारतले ८ विकेटले गुमायो ।

भारतले समूह २ मा बाँकी तीन खेल खेल्न बाँकी छ । समीकरणअनुसार यी तीनै खेल जिते पनि भारतको ६ अंक हुनेछ । उता पाकिस्तान ६ अंक छ भने अफगानिस्तानको ४ अंक छ र न्युजिल्यान्डको २ अंक छ । अंकविहीन भारतले बाँकी तीन खेलमा अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ ।

पाकिस्तानले नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी रहेकोले पनि पाकिस्तानको अन्तिम चारको यात्रा लगभग तय छ । न्युजिल्यान्डले अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग गरी ३ खेल बाँकी छ । भारतले आगामी खेल बुधबार अफगानिस्तानसँग खेल्नेछ । अन्तिम चारको सम्भावना जीवितै राख्न यो खेल भारतले जित्नै पर्छ ।

यो खेलबाटै भारतको लागि अन्तिम चारको यात्राको सम्भावना जीवितै हुने वा नहुने टुंगो लाग्नेछ । प्रतियोगितामा अफगानिस्तानको प्रदर्शन निकै राम्रो भएको हुँदा भारतको लागि यो खेल कठिन हुन सक्नेछ । यो खेल जितेमा भारत प्रतियोगितामा बनिरहनेछ । यदि, हार भएमा भने बाँकी दुई खेल खेल्न अगावै भारत अन्तिम चारको होडबाट बाहिरिनेछ ।

भारत सेमिफाइनलमा यसरी पुग्छ

भारतले सेमिफाइनलमा पुग्न बाँकी तीनै खेलमा ठूलो जित निकाल्नुपर्छ । अफगानिस्तान र न्युजिल्यान्डको ६/६ अंक हुने पक्का छ । त्यसैले, पनि भारतले सेमिफाइनलमा पुग्न तीनै खेलमा नेट रनरेट राम्रो गरेर जित निकाल्नु आवश्यक छ । अर्को न्युजिल्यान्ड अफगानिस्तानसँग स्तब्ध हुनुपर्छ । यो नतिजामै मात्र भारतको अन्तिम चारको यात्रा हुन सक्नेछ ।

न्युजिल्यान्ड भारतको तगारो

प्रतियोगितामा न्युजिल्यान्डको प्रदर्शन राम्रो भइरहेको छ । न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । दोस्रो खेलमा भने न्युजिल्यान्डले भारतलाई सहजै पराजित गर्‍यो । न्युजिल्यान्डका बलिङ र ब्याटिङ उत्कृष्ट देखिएको छ । न्युजिल्यान्डले आगामी तीनै खेल जित्ने सम्भावना पनि बलियो छ । यदि, न्युजिल्यान्डले तीनै खेल जितेमा भारतले बाँकी तीनै खेल जितेमा पनि अन्तिम चारमा पुग्न सक्ने छैन । भारतको लागि न्युजिल्यान्ड नै तगारो हुनेछ ।

अफगानिस्तानलाई पनि मौका

अफगानिस्तानको ३ खेलबाट ४ अंक छ । अफगानिस्तानले बाँकी खेल भारत र न्युजिल्यान्डसँग खेल्न बाँकी छ । अफगान टोलीका लागि दुवै टोली बलिया प्रतिद्वन्द्वी हुुन् । अर्को बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग भने अफगानिस्तान हारिसकेको छ । तर, अफगानिस्तानले पाकिस्तानविरुद्ध गरेको ब्याटिङ र बलिङ सानदार रहेको थियो । यदि, यो प्रदर्शनबाट अलि माथि उम्कन सकेमा अफगानिस्तानको लागि पहिलोपटक विश्वकपको अन्तिम चारमा पुग्ने मौका हुनेछ ।

समूह २ अंकतालिका
टोली खेल जित हार अंक रनरेट
पाकिस्तान ३ ३ ० ६ ०.६३
अफगानिस्तान ३ २ १ ४ ३.०९
न्युजिल्यान्ड २ १ १ २ ०.७६
नामिबिया २ १ १ २ –१.२८
भारत २ ० २ ० –१.६०
स्कटल्यान्ड २ ० २ ० –३.५६

प्रतिक्रिया दिनुहोस्