आसभ र स्पन्दन फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।

आसभ सिंह हाडा र स्पन्दन उदास गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ अन्तर्गत यु १० विधातर्फ उपाधि नजिक पुगेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त उमेर समूहको ब्वाइजतर्फको खेलमा आसभ हाडाले संजोग ब्लोनलाई ६–४, ६–२ ले हराएका हुन् । यस्तै, अर्को खेलमा स्पन्दनले सम्खाहाङ राईलाई ६–०, ६–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाइज १४ छात्रतर्फ आयुष्मान घले र राजवीर प्रधान फाइनलमा पुगेका छन् । आयुष्मानले बोरिस अधिकारीलाई ६–१, ६–१ ले हराउँदा राजवीरले निश्चल कायस्थलाई ६–०, ६–० ले पराजित गरेका हुन् ।

सिनियरतर्फ पुरुष एकल विधामा अकी रावत, ऋतिक राणा, निशान श्रेष्ठ र आरभ सम्रात हाडा सेमिफाइनलमा पुगेका छन् । अकीले प्रणव खनाल, ऋतिकले जितेन्द्र परियार, निशानले नविन पाइजा र आरभले प्रदीप खड्कालाई हराएका हुन् । यस्तै सिनियर महिला एकलतर्फ प्रेरणा कोइराला, रायना शाह, सलोनी तामाङ र अभिलाषा विष्ट अन्तिम चारमा पुगे । प्रेरणा, रायना र अभिलाषा महिला डबल्सतर्फ पनि अन्तिम चारमा पुग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्