म्याराथनको उद्घाटन खेलकुदमन्त्रीले गर्ने



नेपाल समाचारपत्र, बाँके ।

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने भएका छन् ।

आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन् ।

बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । नेपालगञ्ज म्याराथन मंसिर ४ गते शनिबार हुँदैछ । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीका बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगञ्जमा म्याराथन हुने गर्दछ । यसपाली शनिबार पार्नका लागि घोषित मितिभन्दा एक दिनअघि म्याराथन आयोजना गरिएको छ ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणको उद्घाटन तत्कालीन गृहमन्त्री शक्ति बस्नेतले गरेका थिए । सातौं संस्करण त्यही पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका अथकले गर्दैछन् । माओवादी विस्तृत शान्ति सम्झौताको एउटा पक्ष हो ।

सात हजार मानिसलाई दौडाउने योजना अनुसार नेपालगञ्ज म्याराथनको तयारी तीव्रगतिमा भइरहेको छ । नेपालगञ्ज म्याराथनको रौनक बढाउन महानायक राजेश हमाल आउँदै छन् । राष्ट्रियस्तरका सबै र विदेशबाट समेत केही धावक नेपालगञ्ज म्याराथनमा दौडिँदै छन् । सातै प्रदेशका खेलाडी नेपालगञ्ज म्याराथनमा सहभागी हुँदै छन् ।

क्रियटिभ ह्यान्डस्का अध्यक्ष ठकुरीले नेपालगञ्ज म्याराथनमा स्थापित प्रतियोगिता भएकाले सबै राष्ट्रिय खेलाडीको सहभागिता रहने बताउनुभयो । ‘युवा तथा खेलकुदमन्त्री अथकले समय दिनुभएको छ । महानायक राजेश हमाल आउँदै हुनुहुन्छ, यसले नेपालगञ्ज म्याराथनको रौनक अझ बढाएको छ, अध्यक्ष ठकुरीले भन्नुभयो, नेपालगञ्जको पहिचान बढाउने नेपालगञ्ज म्याराथनलाई अझ उचाइमा पु¥याउन जिल्लाबासीको एकताको खाँचो छ ।’

फूल र हाफ म्याराथनमा सबै राष्ट्रिय खेलाडी दौडिदै छन् । विधागत दौडमा भविष्यका धावकहरू र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखिँदैछ । ८ देखि १२ वर्ष उमेरका बच्चाहरू, कर्पोरेट र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वले भाग लिँदैछन् । नेपालगञ्ज म्याराथनमा अपाङ्गता भएकाहरूले पनि प्रतिभा देखाउने मौका पाउँदै आएका छन् ।

नेपालगञ्ज म्याराथनलाई भव्य र सभ्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय वाणिज्य बैंक, फोन पेको साथ र सहयोग रहेको छ ।

नेपालगञ्ज म्याराथनमा गत वर्ष कोरोनाले गर्दा ठूलो उपस्थिति गराइएको थिएन । यद्यपि, गत वर्षको नेपालगञ्ज म्याराथन ऐतिहासिक भएको थियो । टोकियो ओलम्पिकको छनोटको रूपमा नेपालगञ्ज म्याराथनलाई लिइएको थियो । त्यसअघि, तीन हजार सात जना म्याराथनमा दौडिएका थिए । अध्यक्ष ठकुरीले गत वर्ष इच्छा भएकाहरूलाई सहभागी गराउन नसकेको र यसपाली सात हजारलाई नेपालगञ्जको सुर्खेत रोडमा दौडाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्