आज प्रतिष्ठाको लागि खेल्दै नेपाल



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली एएफसी यू–२३ एसियन कपअन्तर्गत छनोट चरणबाटै बाहिरिनुपरेको छ । ताजिकिस्तानमा चलिरहेको उक्त प्रतियोगितामा नेपाली टोली लगातार दुई खेलमा फराकिलो हार बेहोरेपछि समूह चरणबाट बाहिरन बाध्य भयो । पहिलो खेलमा नेपालले इरानसँग ४–० को हार बेहोर्‍यो भने दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६–० को हार आत्मसात गर्‍यो ।

प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा रहेको नेपाली युवा टोलीले आज समूहको अन्तिम खेल लेबनानसँग खेल्नेछ । यो खेल नेपालको लागि इज्जत जोगाउनको लागि हुनेछ । लेबनान पनि समूहमा दुवै खेल हारेर बाहिरिइसकेको छ । यसैले पनि लेबनानले प्रतिष्ठाको लागि खेल्ने भएको हुँदा नेपालले आक्रामक खेल्नु आवश्यक हुन्छ ।

नेपालले अहिलेसम्म यू–२३ एसियन कपमा जित हात पार्न सकेको छैन । साथै नेपालले विपक्षीको पोस्टमा गोल गर्न पनि सकेको छैन । अघिल्ला दुई संस्करणमा पनि नेपाल पराजित हुनुका साथै गोलविहीनमै सीमित भएको थियो ।

एसियन कप २०२२ उज्वेकिस्तानमा आयोजना हुँदैछ । यसका लागि हाल छनोट चरणका खेल भइरहेको छ । उज्वेकिस्तान आयोजकको नाताले आगामी एसियन कपमा छनोट भइसकेको छ । हाल जारी ११ समूहका ११ शीर्ष टोली सीधै छनोट हुनेछन् । बाँकी ४ टोली उत्कृष्ट टोलीको रूपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्