लोएडद्वारा अन्तर्राष्ट्रिय करियरको अन्त्य



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाकी चर्चित महिला फुटबलर कार्ली लोएडले आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त गरेकी छन् । बुधबार भएको मैत्री खेलमा अमेरिकाले दक्षिण अफ्रिकालाई ६–० ले हराएको हो । यो खेलपछि ३९ वर्षीया लोएडले आफ्नो सानदार करियरको अन्त्य गरिन् । उनले अन्तिम खेलमा अमेरिकी राष्ट्रिय टोलीका लागि ६५ मिनेट खेलेकी थिइन् ।

३ सय १६ अन्तर्राष्ट्रिय खेल खेलेकी लोएड बुट आफ्नो हातमा लिएर भावुक भइन् । उनले टोलीका साथीहरूसँग अँगालो मारेर आँसु झारिन् र मिनेसोटास्थित एलियान्ज मैदानमा उपस्थित दर्शकलाई धन्यवाद दिएर सलाम पनि ठोकिन् । उनले भनिन्—‘यो सम्मान हो । यो लामो करियर भएको छ । र मलाई के भन्ने थाहा पनि छैन ।

२००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी लोएडले अन्तिम खेलमा गोल भने गर्न सकिनन् । अमेरिकी महिला फुटबल टोलीले दुईपटक विश्वकप जित्दा लोएड टोलीका सदस्य थिइन् । उनले राष्ट्रिय टोलीका लागि १ सय ३४ गोल गरेकी थिइन् ।

लोएडले अन्तर्राष्ट्रिय करियर समाप्त गरे पनि न्युयोर्क सकर लिग सिजनको बाँकी खेल भने खेल्नेछिन् । उनले अमेरिकाबाहिर पनि खेलेकी थिइन् । उनले २०१७ मा लोनमा म्यानेस्टर सिटीबाट खेलेकी थिइन् । उनले सिटीका लागि ६ खेलमा २ गोल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्