अलमुताइरीको सम्झौता तीन वर्षसम्म लम्बियो



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सम्झौता आगामी तीन वर्षसम्म लम्बिएको छ ।

कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफलपछि सम्झौता नवीरकण गरेको कुवेती नागरिक अलमुताइरीले सामाजिक सञ्जालमार्फत् जानकारी गराए । सन् २०२१ मार्चमा नेपाली टोलीसँग आबद्ध भएका अलमुताइरी आएपछि नेपाली टोलीमा थुप्रै हेरफेर भएको छ । प्रायःजसो नयाँ खेलाडीकै वर्चश्व रहेको नेपाली टोली यसपटक साफ च्याम्पियनसिपमा उपविजेता बन्यो ।

नेपाली पुरुष फुटबल टोली पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो । यसअघिका १२ संस्करणसम्म नेपालले यो उपलब्धि हासिल गर्न सकेको थिएन । जब अलमुताइरी प्रशिक्षकमा आए तबदेखि नेपाली फुटबलको प्रदर्शन औसतभन्दा माथि उठेको सबैलाई भान भएको हो । अलमुताइरीको प्रशिक्षत्वमा नेपाली टोलीले अब एसियन कप छनोटमा खेल्न तयारीमा लाग्नेछ ।

१२ खेलमा २७ गोल खाएको

अलमुताइरीको नेतृत्वमा नेपालले विश्वकप छनोटअन्तर्गत ३ खेल खेलिएको छ । यस्तै, मैत्रीपूर्ण खेल इराक, ओमान र भारतसँग खेलियो भने साफमा समूह चरणमा चार खेल र फाइनल गरी ५ खेल खेल्यो । जम्मा १२ खेल खेलिएकोमा मात्र ३ खेलमा जित हासिल भएको छ । नेपालले विश्वकपअन्तर्गत चाइनिज ताइपेईविरुद्ध २–०, साफअन्तर्गत खेलमा माल्दिभ्सविरुद्ध १–० र श्रीलंकाविरुद्ध ३–२ ले जितेको थियो । चाइनिज ताइपेईलाई योभन्दा अघि अलमुताइरी नआउँदा पनि पहिलो लेगमा नेपालले २–० ले नै हराएको थियो ।

यसैगरी, मैत्री खेलमा दशरथ रंगशालामा भारतसँग १–१ बराबरी खेलेको नेपालले साफअन्तर्गत बंगलादेशविरुद्धको खेल १–१ बराबरी नतिजा बेहोरेको थियो । नेपालले १२ खेलमा यी दुई खेल बराबरी खेलेको हो । तर, नेपालले ७ खेलमा हार बेहोरेको छ । नेपालले इराकमै खेलेको इराकसँगको मैत्री खेल ४–२ ले गुमाएको थियो । यसैगरी, विश्वकपअन्तर्गत छनोट खेलमा नेपाल अस्ट्रेलिया र जोर्डनसँग समान ३–० ले हारेको थियो । यसपछि भारतविरुद्ध दशरथ रंगशालामा खेलिएको मैत्री खेल नेपालले २–१ ले हार बेहोर्‍यो । यस्तै, साफ च्याम्पियनसिप हुनुअघि ओमानविरुद्ध खेलिएको मैत्री खेलमा नेपाल ७–२ ले हारेको थियो । अलमुताइरीको नेतृत्वमा यो अहिलेसम्मकै नराम्रो हार हो ।

यस्तै, भर्खरै मालेमा सम्पन्न १३औं साफ च्याम्पियनसिपमा नेपाल भारतसँग मात्रै हारेको थियो । समूह चरणको खेलमा नेपालले भारतसँग १–० को हार आत्मसात् गरेको थियो । तर, फाइनलमा भने भारतले नेपाललाई ३–० ले हराएर उपाधिविहीन बनाएको थियो । अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले १२ खेलमा विपक्षीको पोस्टमा १३ गोल गरेको छ । तर, आफ्नो पोस्टमा भने गोल खाएको भन्दा दोब्बर २७ गोल भएको छ । गोल खाएको हिसाबमा नेपालको डिफेन्स कमजोर भएको पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस्