दक्षिण अफ्रिकाले हरायो वेस्ट इन्डिजलाई



दुबई, (एजेन्सी) ।

जारी क्रिकेट टी–२० विश्वकप सुपर १२ अन्तर्गत मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ ।

समूह १ को उक्त खेलमा दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजलाई ८ विकेटले हराएको हो । वेस्ट इन्डिजले पहिले ब्याटिङ गरेर १ सय ४४ रनको मध्यम लक्ष्य तेस्र्यायो । जवाफमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १० बल बाँकी राखी लक्ष्य भेट्टाएको हो ।

यो खेल दुवै टोलीलाई जित्न आवश्यक भएकोमा दक्षिण अफ्रिकाले बाजी मार्न सफल भयो । दक्षिण अफ्रिका र वेस्टइन्डिज आ–आफ्नो पहिलो खेलमा क्रमशः अस्ट्रेलिया र इंग्ल्यान्डसँग हारेका थिए । दक्षिण अफ्रिकाले यो जितसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई जीवितै राख्यो । तर, वेस्ट इन्डिजको लागि भने लगातार दुई हारपछि बाँकी खेल जित्नै पर्ने दबाब भएको छ ।

दक्षिण अफ्रिकाको जितमा रसी भानडर डुसेन र एडेन मार्करामले उत्कृष्ट ब्याटिङ गरे । उनीहरूले तेस्रो विकेटका लागि ८३ रनको नटआउट साझेदारी गरेपछि टोलीको जित सम्भव भयो । उक्त जित दिलाउँदा मार्करामले सर्वाधिक ५१ रन जोडे भने डुसेनले ४३ रन बनाए । विस्फोटक ब्याटिङ गर्ने क्रममा मार्करामले २५ बलमा ४ छक्का र २ चौका प्रहार गरेका हुन् ।

जवाफमा आएको दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुना दोस्रो खेलमा पनि ठूलो इनिङ खेल्न अक्षम भएका थिए । टेम्बा ३ रनमै आन्द्रे रसेलद्वारा रनआउट भएका थिए । उनी यसअघिको खेलमा पनि फ्लप भएका थिए । कप्तानको विकेट पतन भएपछि रिजा र डुसेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेर स्कोर ६१ रनमा पुर्‍याए । रिजालाई हुसेनले आउट गरेका थिए । त्यसपछि, रिजा र मार्करामले सानदार ब्याटिङ गरेर वेस्टइन्डिजलाई निराश पारेका थिए ।

यसअघि, वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । यो स्कोर पहिलो खेलको भन्दा निकै राम्रो बनेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध मात्र ५५ रन जोडेको र सो खेल ६ विकेटले हारेको थियो । यसपटक भने सुधरिएको प्रदर्शन गरेको वेस्ट इन्डिजको तर्फबाट ओपनर इभिन लेविसले ५६ रनको योगदान दिए ।

यस्तै, कप्तान काइरान पोलार्डले २६ रन बनाएका थिए । अन्यले भने पहिलो खेलमा झैँ निरस ब्याटिङ गरेका थिए, जसमा विस्फोटक ब्याटसम्यान क्रिस गेल पनि सामेल थिए । उनले मात्र १२ रन जोडेका थिए । दक्षिण अफ्रिकाका बलरमा ड्वेन प्रिटोरिसले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्