वीर गणेशमान टेनिस शुरू



नेपाल समाचारपत्र, काठमाडौं ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको शुरुआत मंगलबारबाट भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नुभयो । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ २३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता तथा तेस्रो स्थान हात पार्नेले क्रमश ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी, युगलतर्फ तथा पुरुषको ३५ वर्षमाथि एकलतर्फ शीर्ष तीन स्थानमा हात पार्नेले क्रमश ४० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुषको ३५ वर्षमाथि युगलतर्फका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्नेछन् । यता पुरुषको ४५ वर्षमाथि एकलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश ३० हजार, १५ हजार र ५ हजार पुरस्कार जित्नेछन् भने युगलतर्फ २० हजार, १० हजार र ५ हजार पुरस्कार राशी रहेको छ । पुरुषको ५५ वर्षमाथि एकलतर्फका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् भने युगलतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमश १५ हजार, १० हजार र ७ हजार ५ सय जित्नेछन् ।

पुरुषको ६५ वर्षमाथि एकलतर्फका विजेताले १५ हजार, दोस्रो हुनेले ७ हजार ५ सय र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार जित्नेछन् । जुनियरतर्फ छात्र र छात्राको एकलतर्फ यु–८, यु–९, यु–१०, यु–१२ तथा यु–१४ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने युगलतर्फ छात्र र छात्राको खुल्ला प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फका विजेताहरूले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिता आउँदो कार्तिक १६ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्