खेलाडी संघको नवमन्त्रीसमक्ष ज्ञापनपत्र



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रीसमक्ष ८ बुँदे ज्ञापनपत्र मंगलबार बुझाएको छ ।

सत्ता परिवर्तनपछि खेलकुदमन्त्री बनेका महेश्वर जंग गहतराजलाई ज्ञापनपत्र बुझाएका हुन् । संघका अध्यक्ष दीपक श्रेष्ठसहितका टोलीले मन्त्री गहतराजलाई खेलकुदमन्त्री भएको अवसरमा बधाई दिनुका साथै भविष्यमा राम्रो कामको कामना गरेको छ ।

नेपालमा खेलाडी बनेर जीविका चलाउन सकिन्छ भन्ने सन्देश अभिभावकमा जानुपर्ने भएकोले संघका अध्यक्ष दीपक श्रेष्ठले सोको लागि खेलकुदमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । श्रेष्ठले नेपाल समाचारपत्रलाई बताए—‘नेपालमा खेलेर जीविका चलाउन सक्छ है भन्ने सन्देश जानुपर्छ । नत्र नयाँ खेलाडीको आगमन कम हुने गर्छ । भन्नुपर्दा आउँदो पुस्तामा खेलबारे वितृष्णा हुन जान्छ । त्यसैले, खेलाडीको भविष्य सुनिश्चित पार्नुपर्छ भनेर नै खेलकुदमन्त्रीलाई जानकारी गराएको हो । मन्त्रीले केही न केही परिवर्तन गर्छु भन्नुभएको छ । हेरौं उहाँले के गर्नुहुन्छ ?’

हरेकपटक नयाँ खेलमन्त्री हुँदा खेलाडीको हकहितका लागि संघले आवाज खेलकुद मन्त्रालयसम्म पु¥याएको छ । खेलकुदमन्त्रीले आश्वासन दिन्छन्, तर पछि यतातिर ध्यान दिने कम हुन जान्छ । श्रेष्ठका अनुसार खेलमन्त्री आउँछन् अनि हरेक मन्त्रीलाई खेलाडीको समस्याबारे जानकारी गराउनुपर्ने अवस्था छ । खेलाडीले पाउँदै आएको सेवा सुविधाको निश्चिताका लागि मन्त्री गहतराजको पहल आवश्यक रहेको पनि उनले बताए ।

खेलाडी संघले राखेको आठबुँदे ज्ञापनपत्रमा खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । यदि, सामाजिक सुरक्षा व्यवस्था नगरिए नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न कठिन हुने श्रेष्ठले बताए । यस्तै, खेलाडीले पदक जित्दा पुरस्कार दिने परम्परा रहेको छ । यो नीतिमा केही गरे जस्तो मात्रै देखिने भएकोले यसका लागि कुन पदकका विजेतालाई नियमितरूपमा कति भत्ता उपलब्ध गराउने नियम बनाउनु आवश्यक भएको उक्त ज्ञापनपत्रमा लेखिएको छ ।

यसैगरी, ज्ञापनपत्रमा अभिभावकले पनि खेल क्षेत्रमा भविष्य छ है भन्ने बुझ्ने गरी सरकारले नीति ल्याउनुपर्ने उल्लेख गरिएको छ । अन्य बुँदामा स्थानीय स्तरका खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीको परिचय खुल्ने पत्रको व्यवस्था गर्नुपर्छ । दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतालाई नगद पुरस्कार दिने नियमावली रहेकोमा विगतका सागमा एक, दुई वा तीन पटकसम्म पदक जितेका खेलाडीलाई कस्तो किसिमले सहयोग गर्न सकिन्छ सरकारले हेर्नुपर्ने पनि उल्लेख रहेको छ ।

हाल कोभिड–१९ को जोखिम केही न्यून भएको आभाष भएको श्रेष्ठले बताए । त्यसैले, सरकारले केही स्वास्थ्य मापदण्ड अपनाएर कोभिडअघि झैं राष्ट्रिय टोलीका लागि १२ महिना नै नियमित प्रशिक्षण गराउन कार्यक्रम सञ्चालन गर्न आवश्यक भइसकेको पनि श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्