चरिकोट र जिरीमा दुई प्रतियोगिता



चिरञ्जीवि मास्के, दोलखा ।

दोलखाको दुई पर्यटकीय केन्द्र चरिकोट र जिरीमा राष्ट्रियस्तरको दुईवटा प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघसँगको सहकार्यमा बागमती प्रदेश खेलकुद विकास परिषद्ले सदरमुकाम चरिकोटमा राष्ट्रियस्तरको रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागेको नेपाल रिले रेस्लिङ संघको महासचिव सुवर्ण श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने कार्यक्रमअन्तर्गत यो वर्ष पर्यटकीय हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा गौरीशंकर हिमालको पृष्ठभूमिमा कात्तिक १३ गते रिङ रेस्लिङ प्रतियोगिताको आयोजना गर्न लागिएको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताउनुभयो ।

प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोनलगायत महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा हेभी वेट च्याम्पियनले एक लाख ५० हजार, हार्डकोर च्याम्पियनले एक लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यसैगरी, दोलखाको पर्यटकीय केन्द्र जिरीमा जिरी च्याम्पियन सिप–२०७८ हुने भएको छ । दीपावलीको पूर्वसन्ध्यामा कात्तिक १२ गतेदेखि १५ गतेसम्म युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिका र दोलखा समाज जापानको सहयोगमा जिरी च्याम्पियनसिप २०७८ अन्तर्गत बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता एवं खुला म्याराथन दौड प्रतियोगिता गर्न लागिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा भलिबलतर्फको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार र सान्त्वना पुरस्कार १० हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । म्याराथनतर्फ प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्