इन्टर र युभेन्ट्सको बराबरी



रोम, (एजेन्सी) ।

इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलान र युभेन्ट्सबीचको खेल बराबरीमा टुंगिएको छ ।

आइतबार राति भएको सिजनको नवौं साताको खेलमा इन्टर मिलान र युभेन्ट्सबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो । इन्टरको घरेलु मैदानमा पाहुना टोली युभेन्ट्सले खेलभरिमा लगातार पकड जमाए पनि पहिला गोल बेहोरेपछि खेलमा फर्किन ठूलै संघर्ष गर्नुपरेको थियो । इन्टरका लागि १७औं मिनेटमा इडेन जेकोले गोल गरेर घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । सहकर्मीको प्रहार बारमा लागेर फर्किएको बलमा जेकोले सानदार प्रहारमा गोल गरेका थिए ।

सो गोलले पछि परेको युभेन्ट्सले खेलमा फर्किन लामो समय संघर्ष गर्नुपरेको थियो । लगातारका प्रयास असफल भइरहँदा युभेन्ट्सले खेलको ८९औं मिनेटमा पेनाल्टी पायो । डी–बक्सभित्र इन्टरका खेलाडीले युभेन्ट्सका डिफेन्डर ड्यानिलोमाथि फाउल गरेपछि रेफ्रीले भीएआरमार्फत् जाँच गरेर पेनाल्टीको मौका दिएका थिए । जसमा पाउलो डिबालाले कुनै गल्ती नगरी उत्कृष्ट पेनाल्टी गोल गरेपछि युभेन्ट्स हारबाट जोगियो । यो बराबरीपछि इन्टर मिलानको ९ खेलबाट १८ अंक भएको छ । अर्कोतिर युभेन्ट्सको भने १५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्