‘एल क्लासिको’ मा रियलको जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडले जितको नतिजा निकालेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले बार्सिलोनालाई २–१ अन्तर गोलले हराएको हो । रियललाई जित दिलाउन डिफेन्डर डेभिड अलाबा र लुकास भाजक्वेजले गोल गरे । बार्सिलोनाका सर्जियो एग्युरोले सान्त्वना गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा रियलले ३२औं मिनेटमा अलाबाको गोलबाट अग्रता लिएको थियो । अलाबाले रोड्रिगोको पासलाई नियन्त्रणमा लिँदै डिबक्स बाहिरबाट सोझै गोल गरेका थिए । आलाबाको सशक्त प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टेर स्टेगनले बचाउन सकेनन् । रियलका लागि अलाबाको यो पहिलो गोल हो । उनी यसै सिजन जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखबाट रियल आएका हुन् ।

रियलले दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गरेको थियो । भाजक्वेजले रिवाउन्ड बलमा उत्कृष्ट गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछि सात मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा बैकल्पिक खेलाडी एग्युरोले सान्त्वना गोल फर्काए । एग्युरोले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए ।

उनी ७४औं मिनेटमा अन्सुु फातीको स्थानमा मैदान छिरेका हुन् । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट यसै सिजन बार्सिलोना आएका एग्युरोको पनि टोलीका लागि यो पहिलो गोल हो । अभ्यासमा क्रममा चोट लागेका उनी लामो समय मैदान बाहिर थिए ।रियलका भिनिसियस जुनियर ‘म्यान अफ दी म्याच’घोषित भए ।जितसँगै रियलले नौ खेलमा ६ जित, दुई बराबर र एक हार खेप्दै २० अंक जोडेको छ । पराजित बार्सिलोनाको १५ अंक छ ।

ला लिगाअन्तर्गत आइतबार राति नै भएको खेलमा रियल सोसिडाड साविक विजेता एट्लेटिको मेड्रिडसँग २–२ गोलको बराबरीमा रोकियो । बराबरीसँगै एट्लेटिको मेड्रिडले १८ अंक बनाएको छ । त्यस्तै, सेभियाले पनि लेभान्तेलाई ५–३ गोलले पराजित गर्दै तीन अंक बटुल्यो । पराजित लेभान्तेको पाँच अंक मात्र रहेको छ । घरेलु मैदानमा भएको अर्को खेलमा रियल बेटिसले रायो भालेकानोलाई ३–२ गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्