पाकिस्तानको भारतलाई हराउने सपना पूरा



दुबई, (एजेन्सी) । 

पाकिस्तानको आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई हराउने ठूलो सपना आइतबार राति यथार्थमा परिणत भएको छ । पाकिस्तानले भारतलाई यूएई र ओमानमा जारी टी–२० विश्वकपमा १० विकेटले हराएको हो । यसअघि, यसै टी–२० विश्वकपमा भारतसँग पाकिस्तान ५ पटक हारेको थियो । यो जितसँगै पाकिस्तानका समर्थकले पनि खुसीयाली मनाउन पाएका छन् । उनीहरूले विश्वकपमा भारतविरुद्ध पाकिस्तान जितेको पहिलोपटक हेरेका हुन् ।

पाकिस्तानले जितेसँगै टिमका कप्तान बाबर आजमका बुबा दर्शकदीर्घामा रोएका थिए । बाबर भारतविरुद्ध पाकिस्तानलाई विश्वकपमा जिताउने पहिलो पाकिस्तानी कप्तान बनेका छन् । उनले पाकिस्तानलाई २९ वर्षको विश्वकप क्रिकेट इतिहासमा भारतविरुद्ध पहिलोपटक जित दिलाएका थिए । क्रिकेट विश्वकप सन् १९७५ देखि शुरू भएको हो । यो फरम्याट ५० ओभरको हो । तर, टी २० विश्वकप सन् २००७ देखि थालनी भएको हो ।

पाकिस्तानका समर्थकले जमेर भारतविरुद्धको जितको खुसी मनाएका थिए । पाकिस्तानी समर्थकले रेस्टुरेन्ट, पसल, सिनेमा हल, पार्टी प्यालेसमा खेल हेरेका थिए । जब जित्ने क्षण आयो तब समर्थकहरू सडकमा निस्केर खुसीयाली मनाएको पाकिस्तानको सञ्चारमाध्यमले उल्लेख गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उनको ट्विटरमा टिमलाई बधाई दिएका थिए । तर, खुसीयाली मनाउने क्रममा कराँची शहरमा हवाई फायर गर्दा केही समर्थक घाइते भएका थिए ।

भारत र पाकिस्तान सन् २०१९ पछि पहिलोपटक आमने–सामने भएका थिए । भारतले इंग्ल्यान्डमा भएको ५० ओभरको विश्वकप क्रिकेटमा जितेको थियो । यसपटक भारतले नराम्रोसँग हारको सामना गर्नुपर्‍यो । भारतले निर्धारित २० ओभरमा १ सय ५१ रन बनाएको थियो । जसमा कप्तान विराट कोहलीले अर्धशतक बनाएका थिए । यो स्कोर पूरा गर्न नसक्ने भारतीय कमेन्टेटरहरूबाट भविष्यवाणी भएको थियो । तर, खेलमा पछि पर्दै गएपछि कमेन्टेटरहरूको आवाज पनि कम हुँदै गएको थियो ।

मोहम्मद रिजवान र कप्तान बाबर आजमले सानदार शुरुआत गरेर भारतीय बलरलाई एकपछि अर्को ओभरमा निराश पार्दै लगेका थिए । उनीहरूको ब्याटिङ सामु जसप्रित बुमराह, रविन्द्र जडेजा, भुवनेश्वर, वरुण चक्रवर्ती र मोहमद शामीको बलिङ आक्रमण फिका बनेको थियो । कुनै ओभरमा पनि यी बलरहरूले पाकिस्तानका ओपनरलाई दबाबमा राख्न सकेनन् । १८औं ओभरमा त रिजवानले शामीको बलिङमा एक छक्का र दुई चौका प्रहार गरेका थिए । पाकिस्तानले १ सय ५२ रनको लक्ष्य १७ दशमलव ५ ओभरमा प्राप्त गरेको थियो ।

रिजवान र बाबरको कीर्तिमान

रिजवान र बाबरले गरेको पहिलो विकेटका लागि १ सय ५२ रनको साझेदारी टी २० विश्वकपमा अहिलेसम्मकै ठूलो साझेदारी बनेको छ । उनीहरूले टी २० विश्वकपमा नयाँ कीर्तिमान रचेका छन् । रिजवान ७९ रन र बाबर ६८ रनमा नटआउट रहे । रिजवानले ३ छक्का र ६ चौका तथा बाबरले २ छक्का र ६ चौका प्रहार गरेका थिए ।

भारतलाई शुरूमै दबाब

भारतले १५ बल खेल्दा २ विकेट गुमाएर ६ रन जोडेको थियो । आक्रमक ब्याटिङ गर्न रुचाउने केएल राहुल ३ रनमा र सानदार खेलाडी रोहित शर्मा शून्यमा आउट भएका थिए । दुवै ओपनरलाई पाकिस्तानी पेस बलर शाहीन अफ्रिदीले आउट गरेका थिए । यसपछि कप्तान कोहलीले ५७ रन र रिषभ पन्तले ३९ रन जोडेर टिमको स्कोर १ सय ५१ सम्म पु¥याएका थिए । यो बलियो स्कोर थियो, तर रिजवान र बाबरले आरामका साथ लक्ष्य पूरा गरेका थिए ।

विश्वकपमा पाकिस्तान भर्सेस भारत

१९९२ विश्वकप समूह चरण भारत ५४ रनले जितेको (५० ओभर)
१९९६ विश्वकप क्वार्टरफाइनल भारत ३९ रनले जितेको
१९९९ विश्वकप सुपर सिक्स भारत ४७ रनले जितेको
२००३ विश्वकप समूह चरण भारत ६ विकेटले विजयी
२०११ विश्वकप सेमिफाइनल भारत २९ रनले विजयी
२०१५ विश्वकप समूह चरण भारत ७६ रनले विजयी
२०१९ विश्वकप समूह चरण भारत ८९ रनले विजयी
२००७ टी–२० विश्वकप समूह चरण भारत बल आउटमा जितेको
२००७ टी–२० विश्वकप फाइनल भारत ५ रनले जितेको
२०१२ टी–२० विश्वकप सुपर एट भारत ८ विकेटले विजयी
२०१४ टी–२० विश्वकप सुपर १० भारत ७ विकेटले विजयी
२०१६ टी–२० विश्वकप सुपर १० भारत ६ विकेटले विजयी
२०२१ टी–२० विश्वकप सुपर १२ पाकिस्तान १० विकेटले जितेको

प्रतिक्रिया दिनुहोस्